फाल्गुन १३
माटो परीक्षण गर्न सरकारले सार्वजनिक गरेको डिजिटल नक्सामा समस्या आएको छ । परीक्षणका लागि बुधवारमात्र सार्वजनिक गरेको डिजिटल नक्सामा सर्भरमा बिहीवार नै समस्या आएपछि किसानले हेर्न पाएका छैनन् । सर्भर र अरू केही अवरोध आएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ माटो विज्ञ श्रीप्रसाद विष्टले जानकारी दिनुभयो । नयाँ कुरा भएकाले धेरैको चासो भएर एकैपटक खोलेकाले समस्या आएको हुन सक्ने उहाँको भनाइ छ । एक पटकमा चार सयदेखि ६ सय जनासम्मले हेर्न मिल्ने क्षमताको बनाइएको छ । तर नयाँ कुरा भएकाले धेरैले हेर्दा ओभर लोडका कारण समस्या भएको उहाँले बताउनुभयो । बिहीवार साढे १ बजेसम्ममा ३५ सयभन्दा धेरैले डिजिटल नक्सामार्फत् माटो परीक्षण गरिसकेका छन् ।
सर्भरको क्षमता बढाउनेबारे छलफल भइरहेको छ । अबको दुई÷तीन दिनमा सबै समस्या समाधान गर्ने गरी काम थालिएको उहाँले बताउनुभयो । बुधवारमात्र सरकारले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तरगर्त राष्ट्रिय माटो परीक्षण केन्द्रले डिजिटल नक्सा सार्वजनिक गरेको थियो । डिजिटल नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको थियो ।