फाल्गुन १८
राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनस्र्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने पनि बताउनुभएको छ ।
आज बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्ने र जनताको समस्या तत्काल समाधान गर्ने बताउनुभयो ।
यस्तै नेकपा प्रचण्ड – नेपाल समूहका स्थायी कमिटी सदस्य तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले दोभान बजारमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
आज विज्ञप्ति निकालेर भट्टराईले पीडितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि आफ्नो तर्फबाट पनि सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । दोभान बजारमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।
आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको हो । दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।