२३ फागुन,
प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणसँग जोडिएका सबै व्यक्ति पक्राउ
उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणसँग जोडिएका सबै व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी ५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणसँग जोडिएका सबै फरार व्यक्तिहरू पक्राउ परेका हुन् ।
आइतवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न सबै प्रहरीको नियन्त्रणमा आएको जनाएको हो । घटनामा संलग्न भनिएका उर्लाबारी ६ का ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपलिका ९ का ३१ वर्षीय दीपेश पौडेल, होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, मोरङ रतुवामाई नगरपालिका–१० २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरी पक्राउ परेको प्रहरीले जनाएको हो ।
घटनाको अवस्था र उनीहरूलाई पक्राउ गर्नुपर्ने कारणको बारेमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले घटनासँग सम्बन्धित व्यक्ति पक्राउ परिसकेको जानकारी दिनुभयो । एसपी खड्काले घटनाबारे अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक उद्धव पोखरेल र प्रहरी जवान योगिन सार्कीलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको छ। उनीहरूसँग बयान लिने काम भइरहेको उहाँले बताउनुभयो ।