फाल्गुन २५
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले न्यायको पक्षमा लड्ने मान्छे कहिल्यै नमर्ने
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले न्यायको पक्षमा लड्ने मान्छे कहिल्यै नमर्ने बताएका छन्।
कपिलवस्तुको शिवगढी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अर्काको दास बनेर अन्याय अत्याचारले मर्नुभन्दा लडेर मर्नु धेरै ठूलो कुरा हो।’
न्यायको लागि संघर्ष गर्न डराउन नहुने उनले तर्क गरे। ‘प्रचण्ड कमरेडसँग छुटेर आउँदा मलाई साथीहरुले दाई लडाईँ भयो भने मान्छे मर्छ भन्नुहुन्थ्यो, उनले भने, ’मान्छे जो कोही पनि मर्छ। तर, अन्यायमा परेर मर्नु भन्दा न्याय बुलन्द गरेर नै मर्नुपर्छ।’ न्यायको कुरा गर्ने मान्छे कहिल्यै मर्दैन। पार्टीलाई प्रतिबन्ध गरेपछि घरघरमा पुगेर हामीलाई दमन गर्यो। अन्यायले सिमा नाघेपछि मृत्यु पनि प्रिय हुन्छ। सत्य बुझेपछि डर भाग्छ।’
जनयुद्धमा अत्याचारमा परेका व्यक्तिहरुको विरुद्ध सरकार लागेको उनले दाबी गरे। सत्यको विरुद्ध बोल्दा सरकारले प्रतिबन्ध गरेर आफ्ना मान्छेलाई गोली हानी मारेको उनले बताए।
उनले आफूहरुलाई प्रतिबन्ध गरेर सरकारले अन्याय गरेका बताए। ‘हामीलाई प्रतिबन्ध लगाउने कुरा सत्य थियो? हाम्रो पार्टीको कार्यकर्तालाई समातेर गोली हान्ने कुरा सत्य थियो? हाम्रो पार्टीका नेतालाई समातेर गोली हानेर मार्नु के सत्य थियो?’ उनले भने।
प्रचण्ड र बाबुरामले गलत बाटो चालेको उनले आरोप लगाए। सहिद र बेपत्ता परिवारको अझै न्याय नपाएको उनको भनाई छ।
प्रचण्डले माधव नेपाल नभएको भए आफू सकिसक्ने तर्क गरेको समेत बताए। प्रचण्ड हिँडेको बाटो ठिक नभएको उनको भनाई थियो।
आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक–अर्काविरुद्ध खनिएको उनले बताए। एनसेलले ठुलो मात्रामा राजस्व नतिर्दा सरकारले जोगाएको उनको भनाई छ। उनले गोली देखाएर जनताको कुरा बोल्न बाट रोक्न खोजेको दाबी गरे।