ईश्वर सुवेदी सुरेश छन्त्याल
गलकोट, २४ फागुन
महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ गलकोट नगरपालिकाको आयोजनामा १११ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले महिलाहरुलाई पुरुष सरह सुरक्षा सम्मान र रोजगारमा समान सहभागिता बनाउनुपर्नेमा जोड दिएका छन् । उनले गलकोट नगरपालिका भित्रका महिलाहरुलाई सक्षम र सवल बनाउनका लागि विभिन्न योजना तथा कार्यक्रमहरु नगरपालिकाले प्रत्येक वडामा सञ्चालन गरेको बताए । त्यस्ता कार्यक्रमहरुबाट अधिकतम लाभ लिँदै सम्पुर्ण महिलाहरुलाई स्वरोजगार हुन आग्रह गरे । गैरेले अविवाहित एकल महिलाहरुको लागि नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरेको समत बताए । कार्यक्रममा जिल्ला सम्वन्य समिति सदस्य रुपा विक, गलकोट नगरपालिका कार्यपालिका सदस्य राधिका पुन, रत्नकला अधिकारी, कमला ढकाल, अखिल नेपाल महिला संघका अध्यक्ष कौशिला घर्ती, नेपाल महिला संघ गलकोट नगर सभापति मिना श्रेष्ठ, अल्पकालिन सेवा केन्द्रका अध्यक्ष भगवती मल्ल, नारी साहित्य समुहका अध्यक्ष माया चालिसे, स्वयमसेविकाको तर्फबाट लक्ष्मी खड्का लगायतले मनतव्य राखेका थिए । कार्यक्रमको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा गलकोट नगरपालिका वडा नम्बर ३ की मिना चोखाल प्रथम, गलकोट नगरपालिका वडा नं १ कि सुमित्रा कार्की द्वितीय र वडा नं २ की ईश्वरी कुवँर तृतीय भएका छन् । त्यस्तै वडा स्तरीय महिला रस्साकस्सी प्रतियोगितामा गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी प्रथम, गलकोट नगरपालिका वडा नम्बर ३ द्वितीय र गलकोट नगरपालिका वडा नं ७ तृतीय भएका छन् । गलकोट नगरपालिका भित्रका ४५ देखि ६० वर्षसम्मका अविवाहित एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिका भित्रका कक्षा ८, १० र ११ मा उत्कृष्ट अंक ल्याउने छात्रालाई पुरष्कृत गरिएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाको अध्यक्षता नगर कार्यपालिका सदस्य शिव कुमारी खत्रीको स्वागत र गलकोट नगरपालिका शिक्षा शाखा प्राविधिक सहायक मनु सिंजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।