फाल्गुन २७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने बताएका छन्।
पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघको कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै उनले एउटा ’व्याटल’ जितेको भएपनि अझै वार नजितेको बताए।
संसद विघटन, संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने विरुद्धको देशव्यापी व्याटल जिते पनि वार जित्न बाँकी रहेको उनको भनाइ छ।
उनले अझै त्यसविरुद्ध ठूला ठूला षड्यन्त्र भइरहेको बताए। उनले अब दुई चार बर्ष जनताको बीचमा जाने लक्ष्य लिएको बताए।
अहिलेसम्मको उपलब्धि जोगाउनका लागि एकजुट भएर लागेर त्यसको रक्षा गर्न सक्ने दाबी उनले गरे। उनले शान्तिपूर्ण ढंगले जनताको बीचमा गएपछि प्रतिक्रियावादीहरु परास्त हुने बताए। उनले आफ्ना पुराना साथीहरुको भर गरेर नै नयाँ जनयुद्ध सुरु गरेको बताए।
उनले जनयुद्ध भनेर हिंसामा जाने कुरा नगरेको दाबी गरे। केपी ओलीको प्रवृत्ति विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दै गर्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभव भएको पनि उनले सुनाए। माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक र राष्टिय कार्यकर्ता भेला गर्न लागेको उनले बताए।