फाल्गुण २८ गते
जनता समाजदावी पार्टी (जसपा) का नेताहरूले नेपाली कांग्रेसलाई वर्तमान सरकारको विकल्प खोज्न अग्रसरता देखाउन आग्रह गरेका छन् । शुक्रवार बेलुकी ४ कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा जसपाका नेताहरूले नेपाली कांग्रेसको अग्रसरतामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने धारणा राखेको पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
जसपाका नेताहरूले साझा धारणा बनाउनका लागि मत÷अभिमत आएको तर ठोस निर्णय भइनसकेको प्रवक्ता शर्माको भनाइ छ । सरकारको नेतृत्वको विषयमा थप संवादपछि निष्कर्षमा पुग्ने कांग्रेसको भनाइ छ ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायत नेताको सहभागिता रहेको थियो भने जसपाबाट अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतोलगायत रहेका थिए ।
जसपाका नेताहरूसँगको छलफलअघि कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । बैठकमा कांग्रेस नेताहरुले ओली सरकारको नेतृत्व हटाउने विषयमा आफ्नो धारणा राखेका थिए । ओली सरकारको विकल्प खोज्नुपर्ने कांग्रेसका नेताहरूको धारणा छ ।
यसअघि सिंहदरबारमा भएको संसदीय दलको बैठकपछि जसपाका नेताहरू बूढानीलकण्ठ गएका हुन् ।