फागुन २९
पाल्पा – सिद्धार्थ राजमार्ग दाँयाबाँया बनेका घरटहरा तत्काल नहटाउन प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् । सिद्धार्थ राजमार्ग फराकिलो बनाउँदा ७०० बढी घरपरिवारको बिचल्ली हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले तत्काल घरटहरा नहटाउन माग गरेका हुन् ।
सडक डिभिजन कार्यालय पाल्पाले सडकको क्षेत्राधिकारभित्रका घर तथा टहरा तत्काल हटाउने सूचना जारी गर्ने, घरधनीलाई सूचित गर्ने र सडक मिचेर बनाइएका संरचनामा चिन्ह लगाउने कार्य गरेसकेको छ । सडक छेउका संरचना तत्काल हटाउँदा आफूहरू सुकुमबासी बन्ने अवस्था आउने भन्दै स्थानीय बासिन्दाले विभिन्न माग राख्दै प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले सडक छेउका घरटहरा फाल्नुअघि स्थानीय प्रशासन, राजनीतिक दल, स्थानीय तथा प्रदेश सरकारसँग सहमति गर्नुपर्ने माग गरेका छन् । यस्तै सडक बिस्तार गर्दा मानव बस्ती नभएको स्थानबाट गर्नुपर्ने, सडक बिस्तारको क्रममा घरटहरा हटाउनै परेमात्र हटाउनुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग उनीहरूले गरेका छन् ।
सडक विभागले २०५१र०५२ सालमा मात्र सडक क्षेत्राधिकारभित्रको जग्गा लगतकट्टा गरेकाले त्यसअघि बनेका घरतथा संरचनाको क्षतिपूर्ति दिनुपर्ने उनीहरूले बताएका छन् । सडक विभागलाई कम क्षति हुने गरी काम गर्न आग्रह गरेपनि २५ २५ मिटर सडक बिस्तार गर्ने भनेपछि ज्ञापनपत्र बुझाउनु परेको स्थानीय बासिन्दाको भनाई छ ।
सडक बिस्तार गर्दा सडक कालोपत्रे गर्न नपुग हुने स्थानको मात्र घरटहरा हटाउन आफूहरू तयार रहेपछि मान्छेलाई सुकुमबासी बनाउने गरी संरचना नहटाउन आग्रह गरिएको प्रभावित क्षेत्रका बासिन्दा प्रेम श्रेष्ठले बताउनुभयो ।
सडक बिस्तार गर्दा सडक छेउमा वर्षौदेखि व्यापार व्यवसाय गर्दै आएका र वर्षौदेखि सोही स्थानमै बसेका करिब पाँच हजार नागरिक प्रभावित हुनेछन् । सडक बिस्तार गर्दा वर्षौदेखि गरेको व्यवसाय चौपट हुने, दुई हजारको रोजगारी गुम्ने र झण्डै एक हजार परिवार घरबारबिहीन हुने तिनाउ–२, का स्थानीय बासिन्दा अमर प्रधानले बताउनुभयो ।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्द अधिकारीले भने सडक छेउमा बसेका बासिन्दाबाट अबरोध हुन खोज्नु स्वभाविक भएको बताउनुभयो । उहाँले सडकको जग्गाभित्र अहिलेसम्म बसेपनि अब सडक कार्यालयले छोड भनेकाले स्थानीय बासिन्दाले छोड्नुपर्ने बताउनुभयो । उहाँले कानुन अनुसार काम गर्न जनप्रतिनिधि, सरोकारवाला र स्थानीय बासिन्दा कसैले अबरोध गर्न नहुनेमा जोड दिनुभयो ।