६ चैत, गुल्मी ।
गुल्मीमा चिर्पट प्रहारबाट एक युवती घाईते भएकी छिन् । जिल्लाको मुसिकोट नगरपालिका ५ धुमीकी कल्पना विश्वकर्मालाई अपरिचित युवाले चिर्पट प्रहार गर्दा घाईते भएकी हुन् ।
माईती गाउँ मुसिकोट नगरपालिकाकै वडा नं ६ कुर्घामा बस्न आएकी विश्वकर्मालाई बेलुकाको समयमा खाना पकाउँदै गरेको बेला घरमा आएका २ युवाले चिर्पट प्रहार गरेको छिमेकीले बताएका छन् । उनकी आमा छिमेकीकोमा गएको बेला मौका छोपेर ती युवाले आक्रमण गरेको बताईएको छ ।
चिर्पट प्रहारबाट बेहोस भई छट्पटाई रहेकी उनलाई स्थानीयले देखेपछि उद्धार गरी स्थानीय कुर्घा स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि पुर्याएका थिए । तर टाउकोबाट अत्यधिक रगत बगेको र चोट पनि ठुलो रहेकाले स्वास्थ्य चौकीबाट थप उपचारका लागि शुक्रवार बेलुकी नै पाल्पा रिफर गरिएको स्वास्थ्य चौकी प्रमुख ममता श्रीसले बताईन् ।
कल्पनाले आफुलाई चिर्पट प्रहार गर्ने व्यक्तिहरुको नाम बताएको आधारमा २ युवालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गर्दै गरेको बताईएको छ । कुर्घा स्वास्थ्य चौकीकी प्रमुख ममता श्रीसले उनको टाउकोको भाग पुरै फुटेको र अवस्था गम्भीर रहेको बताउनुभयो । उनका बुबा विदेशमा रहेको र श्रीमान काठमाण्डौ रहेको बताईएको छ ।
उनका छिमेकी एकजनाले पहिले देखि ती युवाहरु त्यहाँ आउने गरेको बताएका छन् । कल्पना धुमीबाट माईती गाउँमा ३ दिन अगाडी मात्रै आएकी थिईन् । कल्पनाका एउटा छोरा छन् ।