काठमाडौ,
चैत १६ – सरकारले देशैभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषण बढेका कारण चार दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुन सक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभयो । शैक्षिक संस्था चार दिनसम्म बन्द गर्ने निर्णय गरे पनि परीक्षा भने नरोकिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय भए पनि परीक्षा यथावत सञ्चालन हुने जानकारी दिएको हो।