प्रेम सुनार
गुल्मी, चैत्र १८ – २०६६ साल जेठ महिनामा भारतिय सेनाबाट पेन्सन निस्केका दुई चार जना भुपु सैनिकहरु गुल्मीको सदरमुकाम तम्घासको चिया पसलमा भेट हुन्छन र परिचय सुरु गर्छन ।
चिया गफकै क्रममा भुपु सैनिकहरु बिच जिवित सम्पर्क राखी रहन के गर्नु पर्ला ? भन्ने बिषयमा छलफल हुन्छ । सय–सय रुपैयाँ बचत गरेर सहकारी खौलौै त्यस पछि हामी बिच जिवित सम्पर्क रहन्छ भन्ने निचोड निकाल्छन ।
अन्ततः सदरमुकाम मै रहेका २२ जना संगठित भएर सहकारी संस्था स्थापना गर्छन । २०७० साल चैत्र १८ गते आएर श्रीचन्द्रमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दर्ता गरेर बैधानिकता दिन्छन ।
यसरी भुपु सैनिकहरुको सय बाट सुरु गरेको सहकारी संस्था २०७७ को चैत्र १८ गते सातौं बार्षिकोत्सव मनाई रहँदा करोडौंको कारोवार गर्ने सहकारी संस्थाका रुपमा स्थापित हुन पुगेको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्वर ८ को पुरानो बैंकरोड लाईनमा बैकिङ्ग कारोवार रहेको त्यस सहकारी संस्थाले आज चैत्र १८ गते विभिन्न कार्यक्रमका बिच ७ औं बार्षिक साधरण सभा तथा दोश्रो अधिवेशन गरिरहेको छ ।
साधरण सभामा संस्थाका अध्यक्ष कुलदिप थापाले त्यही चिया गफको स्मरण गर्दै भने–‘ भुपु सैनिकहरु बिच जिवित सम्पर्क रहोस भन्नका लागि सहकारी खोल्ने सोच राखेका थियो अहिले सवा दुई करोड बार्षिक कारोवार गर्ने हैसियतमा पुगेका छौं । ’
साधरण सभाका अवसरमा उक्त सहकारी संस्थाले जिल्ला अस्पताललाई एम्वुलेन्सका लागि ट्रली शौजन्य गर्नुका साथै स्वाथ्यकर्मीहरुलाई मिठाई र त्यहाँका विरामीहरुलाई फलफुल हस्तान्तरण गरेको छ । त्यस अस्पतालका सुपरिटेन्डन डाक्टर उत्तम पाच्यले त्यस सहकारी संस्थालाई धन्यवाद दिए ।
जिल्ला सहकारी संस्थाका सदस्य रामलाल पाण्डेले भुपु सैनिकहरुको सिर्जनशिल सोचको प्रतिफल उनिहरुलाई मात्र संगठित गरेन आम सर्वसाधरणहरु समेत त्यस सहकारीमा आबद्ध भएर करोडौंको कारोवार गर्ने संस्था भएकोमा बधाई दिए ।
त्यस सहकारी संस्थाकी प्रबन्धक अमृता पराजुलीका अनुसार अहिले पुरुष १ सय ४७ , महिला १ सय ८४ सहित ३ सय ५८ जना शेयर सदस्य रहेका छन । संस्थाका सचिव पुर्णबहादुर गुरुङ्गले भुपु सैनिक र समुदाय बिच सहकारीले पुलको काम गरेको र आर्थिक , सामाजिक र सांस्कृतिक प्रगतिका लागि सकरात्मक भुमिका खेलेको बताए । संस्थाका उपाध्यक्ष भिमबहादुर थापा र सचिव बिष्णुबहादुर खाती भारतिय सेनाको ‘जुनियर अफिसर ’ हुन् ।