प्रेम सुनार /गुल्मी – नेकपा एमालेको झलनाथ खनाल – माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले एमाले पार्टी नछाड्ने बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको नाममा आफ्नो समूहलाई सुली मै चढाए पनि एमाले पार्टी नछाड्ने बताएका हुन् ।आज गृहजिल्ला गुल्मीको भुवाचिदीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै बिष्टले सत्ता– शक्तिकी अहंकारमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै सिध्याउने गरि अगाडि बढेको बताए ।

ओलीले पार्टीको विधि र पद्धति उल्लंघन गर्दै कारबाही नाममा स्वेच्छाचारी व्यवहार देखाएको विष्टको आरोप छ । त्यसबाट विचलित नभई संघर्ष गर्ने र सुलीमै चढाए पनि आफूहरुले पार्टी नछाड्ने उनको भनाइ छ ।
ओलीले पार्टी एकताको पुरै झ्याल–ढोका बन्द गरेको उनले बताए । नेता बिष्टले बन्द ढोकाको बलेनी मै बसेरै भए पनि पार्टी एकताका लागि लडिरहने जिकिर गरे ।गुल्मीको हकमा साविक एमाले कै नेतृत्वले जिल्लादेखि वडा तहसम्म बैठक बोलाउन र साविककै कार्यकर्ताहरु समेट्न आफूले फोनमा पटक पटक भन्दै ओली समूहले धुर्कोटबाट समानान्तर कमिटी गठन गर्न सुरु गरेको उनको भनाइ थियो ।
साविक जिल्ला कमिटीका सचिव रहेका मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले साविक अध्यक्ष मधुकृष्ण पन्तसँग सोध्दा साविकको सचिव सापकोटालाई हामीले चिन्दैनौँ भन्नु एमाले टुक्राउने खेल माथिदेखि तलसम्म भएको विष्टले बताए ।
सच्चा एमाले नेता कार्यकर्ता , समर्थक र शुभेच्छुकहरु सचेत हुनु पर्ने नेता विष्टको भनाइ छ । आज नै नेता बिष्टले मुसिकोट नगरपालिका १ पौदि अमराई स्वाथ्य चौकी भवनको शिलान्यास गरेका छन् ।

कार्यक्रममा उनले सच्चा एमालेको ठूलो हिस्सा माधव नेपाल समूहमै रहेको र लोकतन्त्रको रक्षा र जनताको समृद्धिको सपना पूरा गर्न लागि परेको उद्घोष गरे ।