बैशाख २५
गुल्मीको इस्मा गाउँपालकाका कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ ।
इस्मा गाउँपालिका –५ रजस्थल निवासी ६५ बर्षिय बृद्धको शनिबार दिउँसो तम्घास अस्पतालको परिसरभित्र एम्बुलेन्समा मृत्यु भएको एम्बुलेन्स चालक तथा छिमेकी यज्ञकुमार ज्ञवालीले बताए । मृतक लामो समयदेखी दीर्घ रोगीअन्तरगत दमको औषधी सेवन गर्थे ।
कोरोनासगँ मिल्दोजुल्दो लक्षण देखा परेपछि बिहीबार गराइएको एन्टिजेन परीक्षणमा पोजेटिभ आएको थियो । शनिबार रोगले अत्याधिक च्यापेपछि उनलाई अक्सिजनसहित तम्घास अस्पताल ल्याइएको थियो । तर तम्घास अस्पतालमा आधा घण्टासम्म राख्दा पनि शैया अभावका कारण जाचँ गर्न नसक्दा बिरामीको मृत्यु भएको ज्ञवालीले बताए ।
अस्पतालमा गएर आकस्मिक कक्षमा सम्पर्क गर्दा पनि चिकित्सक नआएपछि एम्बुलेन्समै बिरामीको मृत्यु भएको ज्ञवालीको भनाई छ ।
तम्घास अस्पताल, गुल्मीका प्रमुख डाक्टर उत्तम पाच्याले अस्पताल आउँदा बित्तिकै बिरामीको ज्यान गएकोले बिरामीलाई स्वास्थ्यकर्मीले भेट्न पनि नपाएको बताए । अहिले अस्पतालका कोभिड र आकस्मिक तर्फका सबै शैया भरिएको उनको भनाई छ ।
कोरोना संक्रमितको लागि बनाएका पाचँ र आकस्मिक तर्फका तीनओटा शैया भरिएकोले थप बिरामी आए उपचारमा समस्या पर्ने डाक्टर पाच्याले बताए । गुल्मीमा हालसम्म दोस्रो चरणको कोरोनाबाट १६ जनाको ज्यान गएको छ ।