चुरामणि तिमिल्सिना
असार ५, रिडि – गुल्मीको सत्यवती गाउँपालिका वडा नंम्बर १ अस्लेवाका स्थानीय युवाहरुले अवरुद्ध सडक मर्मत गरेका छन् ।

गतसाता लगातार परेको अविरल बर्षाले वडा नं १ को द्वांगा जाने सडक बर्षाले खोलेको, पहिरोले पुरेको हुनाले सरकारको मुख ताक्न भन्दा आफनै गाउँका युवाहरु जुटेर सडक मर्मत गर्न लागिएको स्थानीय जुझारु युवा माधव प्रसाद पाण्डेले बताउनुभयोे। उहाँले दिएको जानकारी अनुसार द्वांगाका नारायण ढकाल, अमृत ,कृष्ण , बिसाल , कृष्ण , शंकर, नर वहादुर ,गोकर्ण, खिम पाण्डे, निर्मल पोख्रेल र गोपाल ढकाल लगायतको समूह जम्मा भई काम गरेको र गाउँकै लागि हित हुने काम गर्न आफुहरु निरन्तर लाग्ने र अन्य समुदायलाई पनि चेतना जागोस् भन्ने उद्देश्यले अभियान नै सन्चालन गरेको बताउनु भयो।

यसै वडाका वासिन्दा तथा जनता माध्यमिक विद्यालय अस्लेवाका शिक्षक समेत रहनु भएका बिष्णु प्रसाद पाण्डेको समेत यस अभियानमा सहभागीता रहेको थियो । सहभागीता जनाउदै पाण्डेले अझ केही काम बांकी रहेकोले त्यसलाई छिट्टै पुरा गर्ने र आगामी दिनहरुमा पनि बर्षाले यस्तै सडक बिगारेमा युवाहरुको सहभागीतामा रचनात्मक काम गर्न निरन्तर लाग्ने बताउनु भयो।

यता यसै पालिकाका सामाजिक बिकास समितिका संयोजक तथा वडा न १ का वडाअध्यक्ष भिमलाल पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमले सडक मर्मत गरेको तर लगातार बर्षाले बिगारे पछि स्थानीय युवाहरु जुटेर काम गर्दा आफुलाइ गर्व लागेको बताउंदै यस कार्यले अन्य टोल र वडालाइ पनि सरकारको मुख नताके पनि काम गर्न सकिने गतिलो उदाहरण दिएको भन्दै सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो ।