स्मार्ट लकडाउन
निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ ।
सङ्क्रमण फैलिएको क्षेत्रलाई लक्षित गरी पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य मापदण्ड प्रभावकारी बनाउने प्रावधानलाई ‘स्मार्ट लकडाउन’ भन्ने बुझिए पनि, यस्तो मोडलको लकडाउन स्मार्ट भन्ने स्पष्ट छैन । तर पनि अब थपिने निषेधाज्ञामा आर्थिक गतिविधिलाई बिस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लैजाने तयारी छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने छ ।
सीसीएमसी प्रमुख बालानन्द शर्माका अनुसार ‘स्मार्ट लकडाउन’ कस्तो हुने भनेर छलफल भइरहेको छ । तर सबैजसो आर्थिक क्षेत्र चलायमान हुने उहाँले बताउनुभयो । लकडाउन, लुज लकडाउन, निषेधाज्ञा, खुकुलो पारिएको निषेधाज्ञा भनेजस्तै ‘स्मार्ट लकडाउन’ पनि एउटा मोडालिटी हो । झण्डै दुई महिना लामो निषेधाज्ञाले गरिखाने वर्ग र अर्थतन्त्रमा समेत ठूलो असर पारेकाले अहिले भइरहेको निषेधाज्ञाको मोडालिटी परिमार्जन गरी लागू गर्न लागिएको उहाँको भनाई छ ।
उदाहरणका लागि अहिले अत्यावश्यकबाहेक अरु सबैजसो क्षेत्र बन्द छन् । तर अब सबैजसो क्षेत्र खुल्नेछन् । तर ती क्षेत्रलाई दिन तोकेर वा बार अनुसार वा समय तोकेर खुलाइनेछ । जस्तै सरकारी कार्यालय हप्तामा तीन दिन खुलाउन सकिन्छ । आइतवार कार्यालय खुले अर्को दिन बिदा हुनेछ । त्यस्तै गाडीहरु एकै पटक सबै चल्ने छैनन् । थोरैथोरै सङ्ख्याका आधारमा चलाउँदै लैजानेबारे छलफल भइरहेको छ । एकैपटक जोर बिजोरमा जाँदा भएकामध्ये आधाजसो गाडी गुड्ने भएकाले अब सङ्ख्याका आधारमा खुलाउने तयारी छ ।
विभिन्न जिल्लामा पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमवारदेखि सकिँदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यसअघि दिइएको छ । यसै गरी गाडी मर्मतका लागि वर्कसपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ । निजी तथा सार्वजनिक निर्माणको क्षेत्रमा काम गर्न यसअघि नै खुला गरिएको थियो ।
वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञाको दुई महिना बितेको छ । जिल्ला प्रशासन कार्यालयहरुले पछिल्लो हप्तामा चरणबद्धरुपमा निषेधका क्षेत्रहरुलाई घटाउँदै ल्याएका छन्। यस अवधिमा सङ्क्रमण दर घटे पनि जोखिम कायमै रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ ।