जेठ २ मा फर्किँदा एमालेको संरचना
एमाले जेठ २ कै अवस्थामा फर्किँदा स्थायी कमिटीमा २३ जना रहने छन् ।
महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएकाले एमालेको पाँचमध्ये एक उपाध्यक्ष रिक्त छ । स्थायी कमिटीमा आमन्त्रित सदस्य रहेका सोमनाथ प्यासी अहिले प्रदेश प्रमुख छन् ।
अध्यक्ष केपी शर्मा ओलीपछि एमालेमा दोस्रो वरीयतामा वरिष्ठ नेता झलनाथ खनाल र तेस्रो वरीयतामा नेता माधव नेपाल थिए ।
उपाध्यक्षमा वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल छन् । गौतम कतै खुलेका छैनन् भने तीन उपाध्यक्ष माधव नेपाल पक्षका हुन् ।
पदाधिकारीमध्ये महासचिव ईश्वर पोखरेल र उप महासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल छन् । भुसाल नेपाल पक्षमा खुलेका नेता हुन् ।
जेठ २ मा फर्किँदा एमालेमा ५ सचिव हुनेछन् ।
पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली ओलीसँग छन् ।
सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई नेपाल समूहमा रहेपनि उनीहरू पार्टी एकताको पक्षमा छन् । स्थायी कमिटीका अन्य सदस्यमा किरण गुरुङ, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अमृत बोहरा र पुष्प कंडेल सदस्य रहने छन् । अनुशासन आयोगका अध्यक्ष बोहोरा पदेन र लेखा आयोगका अध्यक्ष कंडेल आमन्त्रित सदस्य हुन् ।
पुरानो स्थायी कमिटी ब्युँतिँदा अहिलेका प्रभावशाली नेता सुवास नेम्वाङ, रघुवीर महासेठ, केशव बडाल स्थायी कमिटीमा छुट्ने छन् । २०७१ सालमा एमाले महाधिवेशन चलेको समयमा सुवास नेम्वाङ सभामुख थिए । हालसालै उपप्रधानमन्त्रीबाट पदमुक्त भएका रघुवीर महासेठ केन्द्रीय सदस्यमा सीमित रहने छन् ।
जेठ २ मा फकिने निर्णय भएमा पोलिटब्युरो सदस्यमा स्थायी कमिटी सदस्यसहित अग्नि खरेल, अरुण नेपाल, काशीनाथ अधिकारीलगायत रहने छन् । गणेश तिमिल्सिना राष्ट्रिय सभाको अध्यक्ष रहेकाले उनी हुने छैनन् । गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, बिन्दा पाण्डे, बेदुराम भुसाल, भानुभक्त ढकाल पोलिटब्युरो सदस्य रहने छन् । महेन्द्र पाण्डे अहिले चीनका लागि नेपाली राजदूत रहेका कारण उनी पोलिटब्युरोमा रहने छैनन् ।
बाँकी पोलिटब्युरो सदस्यमा यामलाल कँडेल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा. विजय पौडेल, विष्णु रिमाल र श्रीमाया थकाली छन्।
आइतवार बसेको एमाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल लगायतका केही नेता एमालेमा फर्किने सम्भावना कम रहेको बताएका, एक सदस्यले बताए ।
नेता नेपाल एकतामा नआएपनि सो समूहमा लागेका नेता कार्यकर्तालाई फर्काउनका लागि पार्टी संरचनालाई जेठ २ मा फर्काउने तयारी भएको एमाले स्रोतको दाबी छ ।