कोभिड खोपको पहुच अवस्था
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिलेसम्म अक्सफोर्ड युनिभर्सिटी, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोडर्ना, फाइजर, सेरम इन्स्टिच्यूट अफ इन्डिया, सिनोफार्म र सिनोभ्याक कम्पनीका खोप कोभिड-१९ विरुद्ध प्रयोग गर्न स्वीकृति दिएको छ। यसका साथै एक सयभन्दा बढी खोपहरू परीक्षणका विभिन्न चरणमै छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, ४ जुलाईसम्म कोभिड-१९ को खोप पूर्ण मात्रामा लगाउने जनसंख्या बेलायतमा करीब ५०, अमेरिकामा ४८ र भारतमा ४.६ प्रतिशत छ। नेपालमा अहिलेसम्म खोपको दुवै मात्रा लगाउने जनसंख्या २.६ प्रतिशत मात्र छ । खोपको एक मात्रा लगाउने जनसंख्या करीब ९ प्रतिशत छ।
खोपको प्रयोगमा विभिन्न देशहरूबीच देखिएको भिन्नताले खोपको उपलब्धता र उपयोगमा विश्वभर असमानता छ भन्ने देखाएको छ।
नेपालमा हालसम्म कोभिड १९ बाट संक्रमित हुनेको संख्या साढे ६ लाख भन्दा माथि छ भने ९ हजार भन्दा धेरैले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। अहिले पनि दैनिक करीब १५ सय नयाँ संक्रमित देखा परिरहेका छन । अहिलेसम्म कुल जनसंख्याको करीब ११ प्रतिशतको मात्र परीक्षण भएको बताईएको छ ।
त्यसैले समयमै कोभिड १९ को खोप ल्याई धेरैलाई खोप लगाएर मात्र नेपालमा महामारीको वर्तमान र दीर्घकालीन असर कम गर्न सकिन्छ।
खोप लगाउने सन्दर्भमा देशभित्र तत्काल उपलब्ध र भविष्यमा भित्रिने खोपमा सबैको पहुँच पुर्याउन र समान वितरण गर्न प्रस्ट आधार बनाउन आवश्यक छ।