प्रेम सुनार
गुल्मी, साउन ४ । कुनै समय गुल्मीको इस्मा गाउँपालिकामा महिलाहरु कै कार्यक्रममा महिला सहभागिता न्युन हुन्थ्यो तर अहिले जुन सुकै कार्यक्रममा पनि पुरुषहरुको न्युन सहभागिता देखिन्छ भने महिलाहरुको सहभागिताले कार्यक्रम स्थल भरिएको हुन्छ । कारणः त्यस गाउँपालिकाले सञ्चालन गरेको एक परियोजनाले महिलाहरुमा त्यसरी जागरण ल्याएको हो ।
इस्मा गाउँपालिकाले सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना सञ्चालन गरे पछि त्यहाँका दुई हजार भन्दा बढि महिलाहरु संगठित हुँदै बाखापालनबाट आत्मानिर्भर तर्फ उन्मुख हुनुका साथै सामाजिक क्षेत्रमा जागरुक समेत बनेका हुन् ।
इस्मा गाउँपालिकाको आर्थिक सहयोग , हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र नवप्रभात युवा संघको साँझेदारीमा त्यस गाउँपालिकाले वडा नम्वर १, २ , ३ र ४ वडाहरुमा ८२ वटा समुहमा २ हजार भन्दा बढि महिलाहरुलाई संगठित गरेर आधुनिक, ब्यवस्थित र ब्यबसायीक बाख्रा पालन सुरु गरेको छ ।
त्यस परियोजनाले बाख्रा कसरी पाल्ने ? कुन कुन जातको घाँस कहाँ कसरी रोप्ने र गाउँमा मिलीजुली बस्ने बाँडी चुँडी खाने लगायतका बिषयमा आधारशिला तालिम दिई गाउँपालिकाले नै खोर निर्माण गर्दै निशुल्क बाख्रा वितरण गर्ने गरेको छ । मुल समुहलाई निशुल्क वितरण गरिएको बाख्रा र बोकाबाट जन्मिएको पाठो र पाठी वहिनी उपहार समुहलाई उपहार दिने गरिन्छ । जसले गर्दां बाख्रा उत्पादन बढ्दै जाने गरेको छ ।
त्यही क्रममा ‘मैले बाख्रा पालेर सन्तुष्ट छु, आय आर्जन पनि भएको छ , तपाईले पनि राम्ररी पाल्नु होला भन्दै ईस्मा गाउँपालिका–४ स्थित दोहली लालिगुराँस महिला स्वालम्वन मुल समुहकी अध्यक्ष सरस्वती अर्यालले बहिनी उपहार समुहकी महिलाहरुलाई बाख्रा उपहार दिइईन् । गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट वडा नम्वर –४ दोहलीकै वासिन्दा हुन् । उनले त्यस बाख्रा उपहार कार्याक्रममा सहभागिहरुलाई भने–‘अन्य वडामा बाख्रा उद्यम परियोजनामा सफल भएको आफुले देखे–बुझेको तर आफ्नै वडामा भएको प्रगतिबारे पहिलो पटक बुझ्न पाएँ ।
उनले आफुहरु निर्वाचित भएर आउँदा वडा नम्वर ५ को ईस्मारजस्थल वडा नम्वर ६ को अमरपुरमा हेफर ईन्टरनेशनल नेपाल भन्ने संस्थाले बाख्रा उद्यम कार्यक्रम सञ्चालन गरेको र महिलाहरुको आय आर्जनका लागि अत्यन्तै प्रभावकारी कार्यक्रम लागेर अन्य ४ वडामा गाउँपालिकाले तिन करोड लगानी गरेर कार्यक्रम सञ्चालन गरेको र महिलाहरु आत्मानिर्भर हुन थालेको बताए ।
सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना वडा नम्वर ४ की सामुदायिक सहजकर्ता पम्फा खत्रीका अनुसार त्यस वडामा १ सय ८ वटा बाख्रा, बोका गाउँपालिकाले वितरण गरेको छ । दोहली लाली गुराँस स्वाबलम्वन महिला समुह र देउराली स्वाबलम्वन महिला समुह त्यस वडाको मुल समुह हुन् । देउराली स्वाबलम्वन मुल समुहले ७५ वटा बाख्रा परियोजनाबाट निशुल्क पाएको छ ।
जसले उत्पादनमा बृद्धि गरि देविस्थान स्वाबलम्वन बहिनी समुहलाई १४ वटा बाख्रा उपहार दिएको छ । त्यस्तै दोहली लालीगुराँस स्वाबलम्वन महिला समुहले जुनतारा स्वाबलम्वन बहिनी समुह, दिर्घायु स्वाबलम्वन बहिनी समुह , मौलापोखरा स्वाबलम्वन वहिनी समुह र श्रीगणेश स्वाबलम्वन बहिनी समुहलाई ६ वटा बाख्रा उपहार दिएको छ ।
त्यस परियोजनाका प्राविधिक संयोजक शशी भुसालका अनुसार हाल सम्म इस्मा गाउँपालिकाका ४ वटा वडामा २ सय ८२ वटा खोर निर्माण भएका छन् । ७ सय ३२ वटा बाख्रा र ७४ वटा बोका निशुल्क वितरढा गरिएको छ ।
२०७६ सालको माघ महिना देखि परियोजना सुरु भएको र यस अवधीमा इस्मा गाउँपालिकामा २५ हजारको हाराहारीमा बाख्रा , खशी बोकाहरु उत्पादन भएको र गाउँपालिका मासुमा आत्मानिर्भर हुने तयारीमा रहेको त्यस परियोजनाका संयोजक प्रयास श्रेष्ठले बताए । उनले इस्मा खशी बोकाको श्रोत केन्द्र बनाउने योजना समेत इस्मा गाउँपालिकाले अगाडी सारेको बताए ।