काठमाण्डौ – नेकपा एमालेले सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०७९र८० को बजेट चुनावमा भोट माग्ने किसिमले आएको बताएको छ ।
हिजो सोमवार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, देशको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरूलाई प्रशिक्षण दिनु भएको थियो ।
त्यसै गरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरू राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल, योजना आयोग कै पूर्व सदस्य डा. दिनेश चन्द्र देवकोटाले पनि बजेट बारे आफ्नो धारणा राख्नु भएको थियो ।
यस्तै बैठकमा अध्यक्ष ओलीले सरकारले अनुचित ढङ्गले आउँदो आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिनु भएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, ‘अध्यक्षले बजेट अनुचित ढङ्गले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढङ्गले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनु भएको छ ।’