जेठ-१७,२०७९
काठमाण्डौ – नेकपा एमालेकी सांसद विन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्ष भित्र उजुरी दिनु पर्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नु भएको छ ।
सांसद पाण्डेले बालिकाहरूले आफूलाई त्यस्ता अपराधका घटना भएको भन्न सक्ने सहज वातावरण बन्न सातरआठ वर्ष कुर्नु पर्ने अवस्था रहेको देखिएको उल्लेख गर्दै यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनु पर्ने कानुनी व्यवस्था उचित नभएको बताउनु भयो ।
एमाले निकट अखिल नेपाल महिला सङ्घले हिजो सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बालिका तथा महिलाहरू माथि हुने यौनजन्य हिंसा अन्त्यका लागि सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।
सांसद पाण्डेले यौन जन्य जघन्य अपराधका घटनाका पीडितलाई क्षतिपूर्ति मात्रै नभइ परिपूरणको पनि व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।