गठबन्धन र स्वतन्त्र ब्यक्ति बाट देश बन्दैन,धेरै राजनीतिक दल भए अस्थिरता : महासचिव पोखरेल
जेठ २०
काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले देश बनाउन नसकिने बताएका छन।
हिजो बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद बैठकको उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनले देश बनाउन नसकिने, देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् ।
महासचिव पोखरेलले जति धेरै राजनीतिक दलहरु हुन्छन उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने जिकिर गरे । देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नुपर्ने उनको तर्क छ ।
महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरु राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए । उनले भने – ‘दुनियाँमा कहीँपनि गठबन्धनले देश बनाएको, दलहरु मिलेर देश बनाएको भन्नेकुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । आज मुलुकको राजनीतिलाई गठबन्धनतर्फ लाने जुन कोसिस भएको छ । यो राष्ट्र निर्माणको बाटो होइन । प्राविधिक रुपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन । राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ ।
जति धेरै राजनीतिक दलहरु त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दलहरु त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दलहरु त्यति धेरै वैदेशिक हस्तक्षप । यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो । पीडा हो । यदी हामी राष्ट्र बनाउन चाहान्छौँ भने त्यो अवस्थाबाट मुलुकलाई मुक्त गर्नु जरुरी छ र नेपालमा थोरै, बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नु जरुरी छ । होला असन्तुष्टिहरु बालेनका रुपमा वा साम्पाङका रुपमा बेला बखत प्रकट हुन्छन । तर त्यो राज्य सञ्चालकको प्रवृत्ति होइन । एकप्रकारले भन्ने हो भने त्यो राजनीतिमा नो भोटको प्रवृत्तिका रुपमा त्यस्ता पात्र, प्रवृत्तिहरु देखा पर्छन ।
त्यसअर्थमा राजनीतिक दलहरुले मुलुकलाई सहि प्रकारको विकल्प दिन नसक्दाखेरी मतदाताहरुले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरु विजेता बनेका छन तर मुलुकलाई नेतृत्व गर्ने सहि बाटो होइन । र उनीहरु साच्चै राजनीतिमा सफल हुन चाहान्छन भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । स्वतन्त्र व्यक्तिहरुका लागि कुन पार्टी मन पर्छ उनीहरुको छनौटको अधिकारको कुरा हो । तर एक्लै समाजलाई बदल्छु भन्नेखालको कुरा यो न हिजो सम्भव भएको थियो । न भोलि सम्भव हुन्छ ।’