एमाले अध्यक्षको आलोचना गरेको अभियोगमा घनश्याम भूसाललाई कारबाहीको सिफारिस
जेठ २२
काठमाडौं ।
एमाले अध्यक्ष केपी ओली विरुद्ध आवाज उठाएको अभियोग लगाउँदै नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक आलोचना गरेका कारण भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले पुष्टी गरेका छन् । आयोगको सचिवालय बैठकले भूसालमाथि कारवाहीका लागि सिफारिस भएको अध्यक्ष बडालले बताए ।
स्थानीय चुनावको परिणाम आए लगत्तै नेता भूसालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीले अनपेक्षित परिणाम ल्याउनुको नैतिक जिम्मेवारी अध्यक्ष ओलीले लिनु पर्ने भन्दै अध्यक्ष ओलीले नैतिकताका आधारमा राजीनामा दिन सुझाएका थिए ।
पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न नपाईने बडालको भनाई छ ।
पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।