नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु फिर्ता बोलायो,नयाँ मन्त्रीहरुलाई आजै शपथ गराउने
जेठ २२
काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले बहालवाला आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । नेकपा एकीकृत समाजवादीका नेता द्वय विजय पौडेल र प्रमेश हमालले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई नामावली बुझाएका हुन् ।
आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको बताइएको छ । एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीहरुमा मेटमणि चौधरी शहरी विकासमन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री बन्नेछन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीको नाम पठाइएको छ भने यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको नेकपा एकीकृत समाजवादीको उच्च स्रोतले जनाएको छ ।
यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।