जेठ -२५,गण्डकी प्रदेश कास्की नेपाल ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो सदनमा प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यो सरकारको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले अधिकांश कार्यक्रम वितरणमा केन्द्रित गरेको छ । किसानलाई पुरस्कृत गर्ने देखि आविष्कारका क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन सम्म सरकारका नीतिमा समेटिएका छन् ।
किशोरीलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, दीर्घरोगी लाई निशुल्क औषधी दिने, निशुल्क रगत, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचारका कार्यक्रम अघि सारिएको छ ।
यस अघि नै कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक शैक्षिक वृत्ति उपलब्ध गराउन थालेको छ भने परिवारलाई ५० हजार राहत दिएको छ ।
नयाँ नीति तथा कार्यक्रममा समेत सोही कार्यक्रमले निरन्तरता पाउने देखिएको छ ।
प्रदेश प्रमुख गुरुङले अहिलेको नीति तथा कार्यक्रमले प्रदेशको सबै नागरिकको अपेक्षा पूरा गर्ने बताए ।‘सबैको साझा प्रयासबाट प्रदेशवासीको अपेक्षा पूरा गर्नेतर्फ हाम्रो ध्यान जानु पर्दछ,’ उनले भने, ‘प्रदेशका मूल समस्याहरू गरिबी, बेरोजगारी, न्यून विकास तथा स्रोतको अभावलाई चिर्दै जन-चाहना बमोजिमको विकास कार्य अघि बढाउन आर्थिक वर्ष २०७९/८० का नीति तथा कार्यक्रमको कार्यान्वयन बाट मद्दत पुग्ने विश्वास लिएको छु ।’
समग्र विकासका लागि संघ र स्थानीय सरकार सँग पनि सहकार्य आवश्यक रहेको उनको भनाई छ ।