जेठ-२७,२०७९
काठमाडौं।
सत्ता पक्षीय गठबन्धनका मूल घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि दुई दल बीच मात्रै चुनावी गठबन्धनको गृहकार्य थालेका छन् ।
खास गरी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा समक्ष यस्तो प्रस्ताव गरेका छन् ।
गठबन्धनमा आवद्ध अन्य दलहरु नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल कांग्रेस र माओवादी केन्द्रसँग चिढिए सँगै देउवा–दाहाल दुई दलबीच मात्रै गठबन्धनको प्रयासमा जुटेका हुन् ।
पछिल्लो समय एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुले स्थानीय तहको गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल राम्रो सँग भएको र आफूहरुलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।
यही बीचमा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधान मन्त्री झल नाथ खनालले त वाम गठबन्धन गर्नु पर्नेमा जोड दिन थालेका छन् ।
उनले एमाले सँगको एकताको संकेत गरेका छन् । उता, उपेन्द्र यादव पनि कांग्रेस र माओवादी केन्द्रको भूमिकालाई लिएर संशकित छन् ।
यसै बीच आगामी निर्वाचनमा कसरी जाने भन्ने बारे रणनीति गर्न प्रधान मन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भोलि दिनहुँ जसो आन्तरिक छलफलमा जुट्ने गरेका छन् ।
स्रोतका अनुसार दुई दल बीच मात्रै चुनावी गठबन्धन गर्नेगरि देउवा–दाहालले तयारी थालेका छन् ।
दाहालले त प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सिट बाँडफाँड बारे पनि छलफल थालेका छन् ।
उनले देउवा समक्ष संघ र प्रदेश दुवै सदनमा ६०र४० सिट संख्याको प्रस्ताव राखेका छन् ।
कांग्रेसले ६० प्रतिशत लिने र माओवादीले ४० प्रतिशत लिनेगरि समझदारी गर्न दाहालले प्रस्ताव गरेको स्रोतको दाबी छ । सभापति देउवा दाहालको प्रस्तावमा सकारात्मक सुनिए पनि उनले यस बारेमा पार्टीभित्र छलफल गरेर मात्रै निधोमा पुग्ने वचन दिएका छन् ।
यस अिघ प्रत्यक्ष तर्फ १६५ सिटमा कांग्रेसले १०० सिट राख्ने र बाँकी ६५ सिटमा गठबन्धनमा आवद्ध दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा बीच बाँड फाँड गर्ने गरि छलफल चलेको थियो ।
अहिले गठबन्धनमा सबै विकल्पमा खुल्ला छलफल हुनु पर्ने पक्षमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रहेका छन् ।
पाँच दलीय गठबन्धन कायम नरहे कांग्रेस र माओवादी केन्द्र मात्रै मिलेर चुनावमा जाने अवस्था भयो र ६०र४० भागबण्डा हुँदा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेसले ९९ सिट लिने र माओवादीले ६६ सिट पाउने देखिन्छ ।
तर, यो विषय अहिले छलफलको विषय मात्रै भएको र यसमा कुनै समझदारी नभएको दाहाल निकट स्रोतको दाबी छ ।