जेठ-२९,२०७९
बुटवल ।
संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या सिर्जना भएको छ ।
लुम्बिनी प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिन थालेका छन्।
प्रदेश सरकार यतिबेला बजेट निर्माणमा केन्द्रित छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण गरिरहँदा मन्त्रालयमा भने सचिवको अभाव छ । यो मन्त्रालयमा मात्रै साढे चार वर्षमा ६ जना सचिव फेरिएका छन ।
आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले मन्त्रालयमा सचिव नहुँदा बजेट निर्माणमा कठिनाइ देखा परेको बताए ।
बजेट निर्माण जस्तो महत्वपूर्ण विषयमा अर्थसचिवकै अभाव खड्किनु चिन्ताको विषय भएको मन्त्रालयका अधिकारीहरु बताउँछन ।
अर्थसचिव नहुँदा मन्त्रालयका दैनिक प्रशासनिक काम त प्रभावित भएका छन् नै,यस बाहेक रकमान्तर, कार्यक्रम संशोधन, थप बजेट वितरण र आगामी आर्थिक वर्षको बजेट तयारीमा पनि गम्भीर असर परेको छ ।
यस विषयमा मन्त्री नै गम्भीर र संवेदनशील बन्नु पर्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।
स्थानीय सरकारको रुपमा रहेका सरकारी कर्मचारीका प्रमुख नै लामो समय टिक्न नसक्दा सरकारका काम कारवाही प्रभावित हुने नेपाल सरकारका पुर्व सचिव डा.मान बहादुर बि.क बताउँछन्।