जेठ-२९,२०७९
राप्ति गाउँपालिका लुम्बिनी प्रदेश नेपाल ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेश सभाको हिजोको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
उक्त नीति तथा कार्यक्रम प्रदेश सभामा प्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रस्तुत गरेका हुन् ।
प्रदेश सभाको हिजोको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरे पछि प्रदेश सभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामा सम्बोधनका क्रममा मुख्य मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेट बाट सम्बोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको जनाउँदै लुम्बिनी प्रदेशको विकासका लागि एकता बद्ध भएर लाग्न अनुरोध गरे ।
मुख्य मन्त्री केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक-फरक भए पनि लुम्बिनीको विकासमा एक हुनका लागि सबैलाई अपिल गरे ।
उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिका क्षेत्रमा लगानी गर्ने जनाउँदै त्यसका लागि प्रदेश सरकार जिम्मेवार भएको बताए ।
उनले लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी विश्वविद्यालय, प्रदेशको राजधानी लगायतका गौरवका आयोजना र आम जनताको जीवनस्तर माथि उठाउनका लागि समेत आगामी वर्षको बजेटमा समेट्ने तयारी भइरहेको बताए ।