जेठ-३०,२०७९
काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न हुन नपाउँदै सरकार र निर्वाचन आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तयारीमा जुटेका छन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नहुँदै सरकार र आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तयारी अघि बढाएका हुन् ।
मंसिर भित्र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न संविधानले बाध्यकारी बनाएको छ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई दुई चरणमा गर्ने रणनीति अनुसार छलफल अघि बढाएको थियो ।
सुरक्षा व्यवस्थालाई मुख्य चुनौती देखाउँदै सरकारले दुई चरणको निर्वाचन प्रस्ताव गरेर तयारी पनि अघि बढाउँदै आएको छ ।
स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा झडप र केही स्थानमा बुथ कब्जाका घटना भएका थिए ।
यस्तै मतपेटिका जोगाउन समेत सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको थियो ।
त्यही कारण सुरक्षाको दृष्टिकोणले दुई चरणको निर्वाचन उपयुक्त हुने आयोग सँगको छलफलमा अघि बढाएको थियो ।
तर आयोगले एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिने जनाएको छ ।
दुई चरणको निर्वाचनमा जाँदा धाँधली हुन सक्ने भन्दै आयोगले एकै चरणमा निर्वाचन सम्पन्न गर्न
सरकारलाई सुझाएको निर्वाचन आयोगका एक पदाधिकारीले जानकारी दिए ।
आयोगका पदाधिकारीकाअनुसार कार्तिक २७, २८, २९ र ३० मध्ये एक दिन निर्वाचनको मिति तोक्न आग्रह गरेको छ ।
आयोगले पनि त्यसैअनुसारको तयारी गरेको छ ।
‘आयोग निर्वाचनका लागि तयारी अवस्थामा छौँ, कुराकानीमा उनले भने, ‘चार दिन अर्थात् कात्तिक २७, २८, २९ र ३० को मितिका विषयमा छलफल भइ रहेको छ ।
कार्तिक २७ गते देश भर एकै साथ निर्वाचन सम्पन्न हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
यस अघि कात्तिक २७ र मंसिर ३ गते दुई चरणमा संघीय संसद् र प्रदेश सभा सदस्यको लागि चुनाव गर्नेमा सरकार र आयोग बीच छलफल भएको थियो ।
तर मिति घोषणा भइसकेको थिएन । आयोगले एकै चरणमा गर्न सकिने आधार दिंदा सरकारले पनि त्यसै अनुरुप तयारी अघि बढाउने बुझिएको छ ।
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन र कांग्रेसको पक्षमा राम्रो नतिजा आए पछि सरकार सकेसम्म छिटो चुनाव गराउने रणनीतिमा छ ।
सत्ता गठबन्धन कायमै रहँदा फेरि मिलेरै चुनाव लड्ने तयारीमा प्रधानमन्त्री शेर बहादुर देउवा छन् । यसैले छिट्टै चुनावको मिति घोषणा गर्ने तयारीमा देउवा छन् ।
अब संघको १६५ र प्रदेशको ३३० सिटका लागि निर्वाचन हुन लागेको हो ।