जेठ-३१,२०७९
गुल्मी ।जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनका लागि हिजो सोमबार दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
असार १ का लागि तय भएको जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एमाले र गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र,राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा समन्वय समितिको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका दोणर् बहादुर खत्री र नेकपा एमालेको तर्फबाट युवराज न्यौपानेको उम्मेदवारी परेको छ ।
खत्री स्थानीय तहको निर्वाचनमा चन्द्रकोट गाउँपालिका वडा नं ३ बाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो भने न्यौपाने सत्यवती गाउँपालिका वडा नं ६ बाट वडा सदस्य पदमा निर्वाचित हुनु भएको हो ।
त्यसै गरी गठबन्धनको तर्फबाट उप प्रमुखमा ने.क.पा माओवादी केन्द्रका तेजेन्द्र सलामी र नेकपा एमालेको तर्फ बाट रमा देवी पुनको उम्मेदवारी परेको छ । सलामी स्थानीय तहको निर्वाचनमा कालिगण्डकी गाउँपालिका वडा नं ६ बाट वडा सदस्यमा निर्वाचित हुनु भएको हो भने एमालेको तर्फबाट उम्मेदवारी दिनु भएकी पुन चन्द्रकोट गाउँपालिका वडा नं ५ बाट वडा सदस्य पदमा विजयी हुनु भएको थियो ।
त्यस्तै सदस्यमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका महेश्वर भण्डारी,सुनिता जि.सी कुँवर, शेर बहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका सावित्रा भण्डारी,ने.क.पा माओवादी केन्द्रका वीर बहादुर कार्की र राष्ट्रिय जनमोर्चाका निर माया रानाको उम्मेदवारी दर्ता भएको छ ।भने नेकपा एमालेको तर्फबाट पिताम्बर अर्याल, कृष्ण प्रसाद भण्डारी, ज्ञान प्रसाद श्रेष्ठ, सागर नेपाली, ममता सुनार आत्रेय, कल्पना अधिकारी र विमला पन्थीको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज जेठ ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने,उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने,उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
गुल्मीमा जिल्ला समन्वयको निर्वाचनका लागि २४ जना मतदाता रहेका छन् ।
१२ पालिकाका स्थानीय तहका प्रमुख/अध्यक्ष एवम् उप-प्रमुख उपाध्यक्षले मतदान गर्ने छन् ।
समन्वय समितिको निर्वाचनका लागि काँग्रेस र एमालेका १० र १० एवम् माओवादी केन्द्रका चार मतदाता छन् । जिल्ला समन्यव समितिमा एक प्रमुख, एक उप प्रमुख, तीन खुला सदस्य, तीन महिला सदस्य र एक दलित सदस्य रहने व्यवस्था रहेको छ । जिल्ला समन्वय समिति गुल्मीको निर्वाचन असार १ गते हुँदै छ ।