असार-३,२०७९
छत्रकोट गाउँपालिका ४ श्रृङ्गा,गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिका ४ श्रृङ्गामा गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन प्रकृया अनुसार लघु कर्जामा पहुँच र वजारीकरण तथा व्यवसायिक परामर्श सम्वन्धि अन्तरक्रियात्मक विशेष प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
छत्रकोट गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा छत्रकोट गाउँपालिका गाउँकार्यपालिका सदस्य भगवती न्यौपानेको अध्यक्षता रहेको थियो।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको सशर्त अनुदानमा सञ्चालित परियोजना मार्फत् आर्थिक वर्ष २०७८/०७९मा सो वडा अन्तर्गत सिलाई कटाई तर्फ १० जना र हाते वुनाइ तर्फ १० जना गरि जम्मा २० जना नयाँ लघु उद्यमी सिर्जना गरिएको थियो।
ती सिर्जित लघु उद्यमीहरुलाई आवश्यक ऋण तथा कर्जामा सहजीकरण गर्न एवम् उत्पादित वस्तुलाइ वजार व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा सहजता प्रदान गर्ने गरि सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वोल्दै गाउँकार्यपालिका सदस्य न्यौपानेले लघु उद्यमीहरुलाइ गाउँपालिकामा आ-आफ्नो लघु उद्यमी समूह दर्ता गरि कानुनी र वैधानिक ढङ्गले व्यवसाय सञ्चालन गर्न सुझाव दिनु भयो।
लघु उद्यमी समूह दर्ता गरेर व्यवसाय सञ्चालन गरेमा मात्र समुहको वास्तविक समस्या,आवश्यकता र माग सहजै पहिचान हुने तथा आवश्यक सहयोग लिनका निम्ति सम्वन्धित निकायलाई खवरदारी गर्न सहज हुने उहाँको भनाइ छ।
लघु कर्जामा सहजीकरणका विषयमा नव अभियान कृषि सहकारी संस्था छत्रकोट गाउँपालिका ४ दिगामका व्यवस्थापक प्रकाश पन्थले सम्वन्धित विषयमा प्रशिक्षण दिनु भएको थियो।
यस्तै वजारीकरण तथा व्यवसायिक परामर्शका विषयमा रुरु एफ्.एमका व्यवस्थापक तथा सञ्चालक युग राज वस्याल ले प्रशिक्षण दिनु भएको हो।
श्रृङ्गा जनता माध्यमिक विद्यालयमा रहेको सिकाई केन्द्रमा सञ्चालित प्रशिक्षण कार्यक्रममा करिव २१ जना लघु उद्यमीहरुको सहभागिता रहेको थियो।अन्तरक्रियात्मक विशेष प्रशिक्षण कार्यक्रममा लघु उद्यमीहरुले उठाएका विविध प्रश्न एवम् जिज्ञासाका सन्दर्भमा सम्वन्धित प्रशिक्षकहरुले जवाफ दिनु भएको थियो।
प्रशिक्षण पश्चात् उनीहरुले धेरै कुराको ज्ञान थपिएका ले अव आफ्नो व्यवसाय सञ्चालनका निम्ति थप सहज हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता यमुना अधिकारी शर्माले गर्नु भएको थियो।