असार-४,२०७९
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसिप प्रोग्राम एसपिपी तत्कालीन नेपाली कांग्रेस सरकारले अगाडि बढाएको तर आफूले त्यसलाई रोकेको दाबी गरेका छन् ।
कांग्रेसका तत्कालीन प्रधान मन्त्री सुशील कोइरालाले यो सम्झौता अगाडि बढाएको र आफू सजग भएर त्यसको च्याप्टर क्लोज गरेको दाबी गरेका हुन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई काठमाडौंमा आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन कार्यक्रमलाई हिजो शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले आफू प्रधानमन्त्री हुँदा नै तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीले एसपिपीमा सहभागी हुन चिठी लेखेको भन्दै गलत भ्रम सिर्जना गरिएको पनि उनले बताएका छन् । ‘म दिन सहित भन्न सक्छु,’ उनले भनेका छन्, ‘नेकपा एमाले यस्तो कुरामा सधैं सजग छ । २०७२ साल असोज ६ गते सुशील कोइरालाले यसलाई अगाडि बढाएका हुन् ।
संविधान जारी भएको ३ दिन पछि आफू सरकारबाट हट्ने तय भएका बेला उनले यो सम्झौता अगाडि बढाएका थिए ।’एमालेलाई सत्ता हस्तान्तरण गर्ने सम्झौता भइसकेको र त्यही अवस्थामा सुशील कोइरालाले यसलाई अगाडि बढाएको ओलीको दाबी थियो ।
उनले भनेका छन्, ‘असोज ६ गते प्रधान मन्त्री र रक्षा मन्त्री एकै जना सुशील कोइराला थिए। कोइरालाले रक्षामन्त्रीको हैसियतमा उक्त निर्णय गर्नु भएछ। स्टेट पार्टनरसिप प्रोग्राममा असोज ६ गते नेपाल पनि पक्ष राष्ट्र होस् भनेर निर्णय गर्नु भएछ ।’
उनले त्यही ६ गतेको निर्णय १३ असोजमा सैनिक हेडक्वार्टरलाई पठाइएको पनि दाबी गरेका छन् ।
अनि आफू २०७२ असोज २४ मा प्रधानमन्त्री भएको उनले बताउँदै आफू प्रधान मन्त्री भए पछि यस विषयमा अगाडि बढ्ने निर्णय नभएको दाबी गरेका छन् ।
उनले आफूलाई थाहा नै नदिइ सेनापतिले अमेरिकी राजदूतलाई पत्र लेखेको पनि बताएका छन् ।
एसपिपीमा सहभागी हुनका लागि पहिलो पटक राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई पत्र लेखेका थिए ।
पछि २०७४ वैशाख २४ गते पनि क्षेत्रीले त्यही पत्र लेखेको तर त्यति बेला पुष्प कमल दाहाल प्रचण्ड प्रधान मन्त्री भएको ओलीले बताएका छन् ।
उनले १ जुन २०१९ मा आफ्नो नेतृत्वको सरकार भएका बेला डोनाल्ड ट्रम्पले इन्डो प्यासिफिक स्ट्राटेजी ल्याएको बताए ।
ओलीले पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भए पछि आफूहरुले अमेरिकाले ल्याएको इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाल नजाने र गएको पनि छैन भन्ने उल्लेख गरेको बताएका छन् ।
आफूहरु कहिल्यै सैन्य गठबन्धनमा सहभागी नहुने भन्ने नीतिमा अगाडि बढिरहेको पनि उनले बताएका छन् ।
उनले सुशील कोइरालाले सुरु गरेको यो विषयमा आफूहरुले च्याप्टर क्लोज गरे पनि अहिले भ्रम छरिएको बताएका छन् ।