छत्रकोट गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ
असार २१
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । पालिकाको आयोजना , प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग र अपांग शसक्तिकरण एवं संचार केन्द्र (डेक नेपाल) बाँकेको सहजीकरणमा सुनुवाई गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले पालिकाले हाल सम्म संचालन गरेका महत्वपूर्ण कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष साबित्रा ज्ञवाली, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र सरोकारवाला लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण डेक नेपाल प्रतिनिधि एवं नागरिक अगुवा गुणानिधी शर्माले गर्नुभएको थियो भने स्वागत डेक नेपालका गणेश पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा एमाले अध्यक्ष पिताम्बर अर्यालले खानेपानी , स्वास्थ्य , शिक्षा लगायतका समस्या कम भएको र अझै पुरा नभएको बताउनुभयो । नेपाली कांग्रेसका नेता भेषराज कंडेलले विवादित योजनामा पालिकाले एकलौटी गरेको बताउदै सुधार गर्न सुझाब दिनुभयो । नेकपा माओवादी केन्द्र छत्रकोटका उपाध्यक्ष राम प्रसाद कंडेलले पालिकाले सार्वजनिक सुनुवाईमा जनसहभागिता गराउन नसकेको बताउनु भयो।
सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफदेही वक्ताको रुपमा बोल्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम एवं बजेटमा युवा लक्षित कार्यक्रम अन्तर्गत कृषि गर्ने युवाको रिणको केही प्रतिशत ब्याज पालिकाले तिरिदिने , बिपन्न बालबालिकाको निशुल्क अध्ययनको व्यवस्था गर्ने लगायत थुप्रै कार्यक्रम ल्याएकाले अहिले उठेका प्रश्न अर्को पटकका कार्यक्रममा आफै निराकरण भएर जाने बिस्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले उठेका प्रश्नहरु संबोधन गर्ने गरि आगामी बजेटमा पहिल्यै व्यवस्था गरिएको बताउनुभयो ।