मुसलमान समुदायले बकर इद पर्व मनाँउदै
असार २६
“इद ऊल जोहाु अथवा ‘ इद ऊल अधाु, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाँउदै छन् । इस्लाम पात्रो हिजारी सम्वतु अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ।
यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नमाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ।
आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन् । नेपाली मुस्लिम समुदायहरूले यो समय आफ्ना गैह्र मुस्लिम साथीभाई हरुलार डाँकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार जस्तै खसीको मासु, बिरयानी तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसीयाली साट्ने गर्दछन् । बहुभाषिक, वह धार्मिक नेपाली समाज धार्मिक सहिष्णुतामा अनेक धर्मसँगको सामीप्य र सम्मानजनक सामाजिक उपस्थितमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिन्छ ।
यस दिन सामूहिक आवश्यकतामाथि पनि मानिसहरूको ध्यान खिचिन्छ र हरेक व्यक्ति आफ्नो हैसियत अनुसार पूरा गर्न सङ्कल्प गर्छन् । जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किनु राम्रो मानिन्छ। यसो गर्नुको अभिप्राय बस्तीको कुनै अंश मानिसहरूको चहलपहल र अल्लाहको स्तुतिबाट खाली नहोस् भन्ने हो।