साउन-१,२०७९
बुटवल।आज आइतबार देखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवाको टिकट,बेड तथा रगत पनि नि:शुल्क हुने भएको छ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट बाट लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी बहिरंग सेवा तथा इमर्जेन्सी आकस्मिक सेवा को टिकट तथा बेड (शश्या) र रगतमा शुल्क नलिने घोषणा गरे अनुसार यी सबै सेवा निशुल्क हुने भएको हो।
सोही घोषणा अनुसार आज साउन १ गते देखि ओपिडी,आकस्मिक उपचार,रगत र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
‘टिकट शुल्क नलाग्ने भए पनि बिरामीहरुले टिकट काउन्टर बाट टिकट भने लिनु पर्ने हुन्छ। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.इन्द्र ढकालले साउन १ गते देखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने बताउनु भयो ।
रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा गए पछि निःशुल्क रगत पाउने छन् ।