पालिका चुनावमा प्रमुख/उपप्रमुखमा एमाले तथा वडामा कांग्रेसलाई लोकप्रिय मत,अवको मन्त्रि परिषद् बैठकले आगामी चुनावको मिति तोक्न ,,चुनाव मितव्ययी भएको आयोगले दाबी
श्रावण ११
काठमाण्डौँ।
गत वैशाख ३० मा सम्पन्न पालिका चुनावमा प्रमुख/उपप्रमुख मा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएको छ ।
निर्वाचन आयोगले हिजो मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार एमालेले नगरपालिकाको मेयरमा २३ लाख ४८ हजार सात सय नौ र उपमेयरमा २२ लाख ७० हजार तीन सय २४ मत पाएको हो ।यस्तै एमालेले गाउँपालिका अध्यक्षमा १४ लाख ७२ हजार नौ सय ५९ र उपाध्यक्षमा १४ लाख ११ हजार एक सय ७४ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले नगरपालिकाको मेयरमा २२ लाख ७९ हजार तीन सय ६३ र उपमेयरमा १५ लाख १५ हजार तीन सय ९८ मत पाएको छ ।यस्तै कांग्रेसले गाउँपालिका अध्यक्षमा १४ लाख ६७ हजार तीन सय ८८ र उपाध्यक्षमा १२ लाख ७१ हजार ५० मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले नगरपालिकाको मेयरमा ६ लाख २७ हजार ६ सय ९३ र उपमेयरमा नौ लाख ४९ हजार आठ सय ५८ मत पाएको छ । यस्तै माओवादीले गाउँपालिका अध्यक्षमा सात लाख १० हजार दुई सय १२ र उपाध्यक्षमा सात लाख ४६ हजार पाँच सय ४० मत पाएको छ।
गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा वडाध्यक्ष तर्फ नेपाली कांग्रेसले सबै भन्दा धेरै मत पाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कांग्रेसले ६ हजार सात सय ४३ वडाबाट ३९ लाख ५६ हजार एक सय ९३ मत प्राप्त गरेको हो । आयोगको तथ्याक अनुसार यो कुल मतको ३४ दशमलव २८ प्रतिशत हो । यस्तै नेकपा एमालेले कांग्रेस भन्दा एक लाख ४४ हजार पाँच सय ९१ मत कम पाएको आयोगको तथ्याङ्कमा उल्लेख छ ।एमालेले खसेको मतमध्ये ३८ लाख ११ हजार ६ सय दुई मत पाएको छ । यो कुल मतको ३३ दशमलव ०३ प्रतिशत हो ।
त्यसै गरी नेकपा माओवादी केन्द्र ले एमालेले पाएको मतको आधा मत पनि पाउन नसकेको आयोगको तथ्याङ्कले देखाउँ छ । माओवादीले १५ लाख तीन हजार दुई सय ४७ मत पाएको छ ।
साथै निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले हिजो पत्रकार सम्मेलन मार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो ।
चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनाव भन्दा मितव्ययी भएको आयोगले दाबी गरेको छ ।
चुनावका लागि आयोगलाई सरकारले आठ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो।त्यस मध्ये आयोगले खर्च गरेर बाँकी रहेको तीन अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेको आयोगका प्रवक्ता शालि ग्राम शर्मा पौडेलले जानकारी दिनु भयो ।
उहाँका अनुसार सचिवालयमा एक अर्ब दुई करोड ६३ लाख १२ हजार एक सय २९, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा चार करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।
प्रवक्ता पौडेलले पालिका चुनावमा प्रति मतदान केन्द्र दुई लाख २९ हजार पाँच सय ७८ रुपैयाँ र प्रति मतदाता दुई सय ८४ रुपैयाँ खर्च भएको बताउनु भयो । आयोगले गरेको खर्च मध्ये २० प्रतिशतमात्रै आयोगको सचिवालय अर्थात् केन्द्रीय कार्यालयबाट भएको र बाँकी सबै खर्च सङ्घीय मोडेलमा तल्ला तहबाट खर्च भएको आयोगले जनाएको छ ।
उता प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि आउँदो मन्त्रि परिषद् बैठकले मिति तोक्न सक्ने बताउनु भएको छ ।
हिजो आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा थपलियाले आउँदो मन्त्रि परिषद्को बैठकबाट मङ्सिर ४ गते चुनाव हुने गरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गर्नु भएको छ । ‘आयोगले सम्पूर्ण व्यहोरा सहित एकै चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव मङ्सिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको चुनाव पालिकाको चुनाव भन्दा कम खर्चिलो हुन सक्ने बताउनु भएको छ ।