लेटरग्रेडिङ व्यवस्था फेरीयो, ३० र २० भन्दा कम अंक ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुने ।
साउन ११
एसईईको नतिजा सार्वजनिकको पूर्व सन्ध्यामा लेटरग्रेडिङ व्यवस्था फेरीएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक हुनैलाग्दा , सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा ‘नन ग्रेडिङ’ उल्लेख हुने व्यवस्था हटाएको हो । कोभिडका कारण विद्यार्थीले राम्रो संग पठनपाठन गर्न नपाएको, पाठ्यक्रम पनि पूरा नभएको भन्दै बोर्डलाई लेटरग्रेडिङ निर्देशिका २०७८ लागू नगर्न दबाब परेको थियो । सोहि अनुरुप ‘नन ग्रेडिङ’ व्यवस्था हटइएको हो ।
नतिजा तयारीको क्रममा, नतिजा राम्रो नआउने देखिएपछि अन्तिम समयमा नन ग्रेडिङ सम्बन्धित व्यवस्था हटाइएको बताइएको छ ।
यसपालि विद्यार्थीले पुरानै पाठ्यक्रमका आधारमा अध्ययन गरिरहेका छन्, त्यसैले लेटरग्रेडिङ पद्धति २०७२ कै आधारमा नतिजा प्रकाशन गर्न सकिने निर्णय भइसकेको बताइएको छ ।
२०७२ अनुसार नतिजा प्रकाशित गर्दा ३० देखि ४० अंक, २० देखि ३० र २० भन्दा कम अंक ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ ।
कक्षा १० मा शैक्षिकसत्र २०८० देखि मात्रै नयाँ पाठ्यक्रम लागू हुँदैछ । यो वर्ष बोर्डले नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार एसईईलगायत कक्षा ११–१२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो ।
लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैनन । जुन कुनै विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमात्र माथिल्लो कक्षामा भर्ना हुन पाइने व्यवस्था गरेको छ ।
तर केही दिनअघि बैठक बसेर २०७२ अनुसार नै यसपालिको नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताइएको छ।
राष्ट्रिय परीक्षा बोर्डले आज दिउँसो नतिजा प्रकाशन गर्दैछ । दिउँसो १ बजे बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।