आज नागपञ्चमी-मूलढोकामा नागको पूजा गर्ने दिन,,,कर्णालीमा सार्वजनिक बिदा

आज नागपञ्चमी,मूलढोकामा नागको पूजा गर्ने दिन,,,कर्णालीमा सार्वजनिक बिदा
श्रावण-१७,२०७९
सनातनधर्मावलम्बी आज मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्।

यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्ष भरि विषालु जीवको भय नहुने विश्वास छ।

नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ।

चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ।

मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ।

विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा आदि वस्तु चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नु पर्ने विधि शास्त्रमा उल्लेख छ।

एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने अर्कातिर भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका छन्। यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकार रहेको उल्लेख छ।

यस्तै नेपाल कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबीचको दूरी हटाउन यो पर्वको महत्त्व रहेको छ। साथै नाग वा सर्पको बासस्थानको रूपमा रहेका पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले प्रेरित गर्छ।

उता कर्णाली प्रदेश सरकारले नाग पञ्चमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हिजो एक सूचना जारी गर्दै आज मंगलबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी (नाग पञ्चमी)को अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बाट मिति २०७८/१२/२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छु, मन्त्रालयका प्रवक्ता उप-सचिव निधिराज न्यौपानेले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ।