काठमाडौं ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ ।
मन्त्रि परिषद्को हिजो बसेको बैठकले मंसिर ४ गते एकै दिन देश भर प्रतिनिधि सभाको १६५ सिट र प्रदेश सभाको ३३० सिटका लागि निर्वाचन मिति घोषणा गरेको हो ।
मंसिर ४ गते एकै दिन निर्वाचन गर्ने मन्त्रि परिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
यस अघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते नै निर्वाचन मिति तोक्ने विषयमा सहमति गरेको थियो ।
निर्वाचन आयोगले पहिले नै मंसिर २ गते निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । आयोगले १२० दिनको समयअवधि राखेर सिफारिस गरेको थियो ।
तर, सरकारले भने निर्वाचनका लागि १०७ दिनको अवधि राखेर मिति तोकेको छ ।यस्तै मौजुदा प्रतिनिधि सभा र प्रदेश सभा आगामी निर्वाचनका लागि उम्मेदवारका लागि बन्द सूची निर्वाचन आयोगमा बुझाए पछि मात्र निष्क्रिय हुने भएको छ ।
सरकारले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाच आगामी ४ मंसिरमा गर्ने निर्णय गरे अनुसार उक्त निर्वाचनका लागि उम्मेदवारको बन्द सूची बुझाए पछि मौजुदा प्रतिनिधि सभा र प्रदेश सभा निष्क्रिय हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन्।
२०७४ सालमा पनि उम्मेदवारको बन्दसूची बुझाए पछि व्यवस्थापिका संसद् निष्क्रिय भएको उनको भनाइ छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरे पनि संसद् सञ्चालनमा भने बाधा नपुग्ने उनको भनाइ छ ।
उता निर्वाचन आयोगले आउँदो प्रदेश र प्रतिनिधि सभा चुनावमा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिने तयारी गरेको छ ।
निर्वाचन आयोगले हिजो बिहीवार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको जानकारी दिनु भएको हो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले उनीहरूलाई अस्थायी मतदाताको रूपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने बताउनु भएको छ ।
केही समय अगाडि एक रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई अस्थायी मतदाताको रूपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।
यस्तै निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ ।
निर्वाचन आयोगमा हिजो भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश कुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि करोड ८७ लाख जना पुग्ने अनुमान गरिएको बताउनु भयो ।
यसै बीच आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ ।
केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी हिजै देखि नै सुरु भइसकेको आयोगले जनाएको हो ।
निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ ।
आयोगले हिजो बिहीवार पत्रकार सम्मेलन गरेर केही तयारी यस अघि नै भइरहेकोमा बाँकी तयारी हिजो देखि सुरु भइसकेको जनाएको हो ।
पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले आज देखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताउनु भयो ।
तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा २१ गते सम्म समय निर्धारण गरिएको जानकारी दिनु भयो ।
यस्तै आयोगले मतदान स्थल र केन्द्रको पुनरावलोकन गरेर पुनः निर्धारण गर्ने, राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गर्ने, निर्वाचन कार्यक्रम र तालिका तय गर्ने, जनशक्तिको आँकलन गरेर विवरण सङ्कलन र अद्यावधिक गर्ने लगायतका काम पनि तुरुन्त प्रारम्भ गर्ने उहाँले जानकारी दिनु भयो ।
चुनावको खर्चको अनुमान गरेर सरकार सँग बजेट माग गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आह्वान गर्ने प्रक्रिया सुरु गर्ने पनि उहाँले जानकारी दिनु भयो ।
आयोगले चुनाव स्वच्छ, निष्पक्ष तरिकाले सम्पन्न गराउन तयार रहेको र यस कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गरेको छ ।
आयोगले निर्वाचन सम्पन्न गर्न करिव १० अर्व खर्च हुने पुर्वानुमान गरेको छ।
उता नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले सरकारले छापा मार शैलीमा निर्वाचनको घोषणा गरेर एमालेको माग पुरा गरेको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दवाव, एमालेको माग र सबैको आशंकाका बीचमा सरकारले छापामार शैलीमा मंसिर ४ गते निर्वाचनको घोषणा गरेको बताएका हुन् ।
उनले संसदीय पद्दती र परम्परामा निर्वाचन घोषणा जस्तो महत्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरि निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्ष सँग कुनै सरसल्लाह नगरि निर्वाचनको घोषणा गरेको बताए ।
निर्वाचनको घोषणा बाट एमाले खुसी भएको स्पष्ट पार्दै उनले अव सम्पूर्ण बहिखाता बोकेर एमाले निर्वाचनमा जाने बताए ।
निश्पक्ष निर्वाचन हुनेमा एमाले बिश्वस्त रहेको उल्लेख गर्दै उनले निश्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने स्पष्ट पारे ।
कसैको व्यक्तिगत धारणा आएको भए पनि एमाले संघीयताकै पक्षमा दृढ रहेको उनको भनाई छ ।
यस्तै नेकपा एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचन पछि सरकार एमालेको नेतृत्वमा आउने दाबी गरेका छन् ।
बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचन पछि अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै देश भर एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने बताए ।
उनले एमाले भित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाउनुपर्ने बताए ।
उनले एमाले सबै भन्दा बलियो राष्ट्रिय शक्ति भएकाले सबै दल मिलेर गठबन्धन बनाएको तर्क गरे ।
आगामी निर्वाचनमा राज्य शक्तिको दुरुपयोग हुन सक्ने तर्फ पार्टी नेता कार्यकर्तालाई सचेत गराउँदै तीन महिनाको अवधिमा पार्टीको विचारलाई जनता माझ लैजान उनले निर्देशन दिए ।