गुल्मी — गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक संकटका कारण ९ जना अध्यापक र कर्मचारीलाई हटाएको छ ।
क्याम्पस सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले ७ जना अध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकास दिएको हो ।समितिले सह–प्राध्यापक चन्द्र कान्त पन्थी, उपप्राध्यापकहरू ढुण्डिराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे, गोविन्द गौतमलाई अवकास दिएको छ ।
त्यस्तै कर्मचारीहरूमा लाइब्रेरीयन लोकनाथ गौतम र स्टोर पिताम्बर मरासिनीलाई पनि अवकास दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको नियम अनुसार १० जना भन्दा कम विद्यार्थी भएको अवस्थामा कक्षा चलाउन नपाइने भएकाले विद्यार्थी संख्या कम भएका प्राध्यापकलाई अवसका दिइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनु भयो ।
‘विश्वविद्यालयको नियमअनुसार उहाँहरूको कक्षा चल्न नसक्ने अवस्थामा अनिवार्य अवकास दिइएको भलामीको भनाइ छ ।
क्याम्पस आर्थिक संकटमा गुज्रिन थाले पछि गत साउन ३० गते सञ्चालक समितिले आर्थिक संकटकाल घोषणा गरी प्राध्यापक तथा कर्मचारीलाई स्वेच्छिक अवकासका लागि आह्वान गरेको थियो ।
सो आह्वान अनुसार ७ जना प्राध्यापक र ६ जना कर्मचारीले स्वेच्छिक अवकासका लागि आशयपत्र बुझाएका थिए । सञ्चालक समितिले उनीहरू मध्ये ४ जना प्राध्यापकको र २ जना कर्मचारीको आशयपत्र स्वीकृत गरेको हो ।
उपप्राध्यापकहरु मध्ये लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे र गोविन्द गौतमले भने स्वेच्छिक अवकासको लागिआशयपत्र पेस नगरे पनि सञ्चालक समितिले हटाएको छ ।
स्वेच्छिक अवकास पाएर र हटाइएका प्राध्यापक कर्मचारीको उपदान र उपचारकोष बापतको रकम करिब पौने दुई करोड भन्दा धेरै हुने क्याम्पसले जनाएको छ ।
उपदान र उपचारकोष बापतको रकम किस्ता बन्दीमा आगामी असार मसान्त सम्म उपलब्ध गराइने सञ्चालक समितिले निर्णय गरेको छ ।