टोपराम केसी
आश्विन-१२,२०७९
छत्रकोट गाउँपालिका गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकाले डेङ्गी,स्क्रवटाईफस तथा मलेरियाका सम्भावित विरामीहरुको स्वास्थ्य जाँच निशुल्क गर्ने भएको छ।
सम्वन्धित स्वास्थ्यकर्मीको सिफारिसमा गाउँपालिका अवस्थित सवै विरामीहरुका लागि निःशुल्क जाँचको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले रुरु एफ्.एमलाई जानकारी दिनु भयो।
यसै विच गाउँपालिकाले गाउँपालिका भरका सवै उमेर समुहका सुगरका विरामीहरुका निम्ति नि:शुल्क जाँचको समेत व्यवस्था यस अघि नै गरिसकेको छ।
गाउँपालिका अध्यक्ष पाण्डेयले वर्तमान समयमा गाउँपालिकाले आम नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँमा जोड्न अभियान नै सुरु गरेको बताउनु भयो।
सेवा विस्तार मार्फत गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका प्रतिवद्ध रहेको पनि उहाँको भनाइ छ।
पछिल्लो समय डेङ्गी,स्क्रवटाईफस,मलेरिया,क्रोनाभाईरस लगाएतका विभिन्न सरुवा रोगहरुले नागरिकहरुमा गम्भीर असर परेको प्रसङ्ग जोड्दै वर्तमान समय गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई नै मुख्य प्राथमिकतामा राखेर कार्यसम्पादनमा जुटेको उल्लेख गर्नु भयो।
सम्भावित विरामीहरुले स्वास्थ्य लाभ लिन अनिवार्य स्वास्थ्यकर्मीको सिफारिसमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा सम्पर्क गरि आवश्यक प्रकृया अगाडि बढाउन गाउँपालिकाले अनुरोध गरेको छ।
उता नागरिक प्रति समर्पित हुँदै शिक्षा ,स्वास्थ्य लगाएतका विविध क्षेत्रमा गाउँपालिकाले गरेका उत्कृष्ट तथा जनमुखी निर्णयहरुको आम गाउँपालिकावासीहरुले स्वागतयोग्य भन्दै खुसि व्यक्त गरेका छन्।