रुपन्देही क्षेत्र नम्बर २ गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी
असोज ३१
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
हिजो आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यस्तै सर्वोच्चले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।
निर्वाचन अधिकृत उदवीर नेपालीले असोज २६ गते बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो ।
गुरुङले निर्वाचन अधिकृतलाई उम्मेदवारी खारेज गर्ने अधिकार नभएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । गुरुङसँगै अन्य दुईजना स्वतन्त्र उम्मेदवारको मनोनयनसमेत आयोगले खारेज गरेको थियो ।
खारेजीमा परेका डा। कमल भुसालको पनि रिट सोही इजलासमा सुनुवाइका लागि तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ ।