आज र भोली बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै
कात्तिक २
सरकारले आज बुधबार र भोली बिहीबार देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ।
राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका उमेरका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइने छ। यस्तै २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ। सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्ने गरेको छ।
सरकारले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।