एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्राचार
कात्तिक ४
निर्वाचन आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय, रौतहतलाई पत्र पठाएर कारबाही प्रक्रिया अघि बढाउन भनेको हो। आयोगको पत्रमा भनिएको छ, ‘माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवालाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकाले सो सम्बन्धमा निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ।’
नेपाल रौतहट–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन्। उनले चुनावी कार्यक्रममा आफूले जितेमा पैसा विनै विदेश जानेलाई काठमाडौंमा तालीम दिने र विदेश पठाउने आश्वासन दिएको पाइएको आयोगले जनाएको छ।
यस विषयमा आयोगले हिजै नेता नेपालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर, स्पष्टीकरणको म्याद नसकिंदै आयोगले कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको हो।
आयोगको पत्रमा कारबाहीको व्यवस्था पनि उल्लेख गरिएको छ। आयोगले निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा ४ को खण्ड च मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ।
ऐनको दफा २० को उपदफा ४ उपदफा १ को खण्ड च विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र दुई वर्षसम्म कैद वा दुवै सजाय हुने सक्ने व्यवस्था रहेको आयोगले उल्लेख गरेको छ।