गोकर्ण पाण्डे,गुल्मी।
गुल्मीमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
राति ९ बजे पछि देउसी सम्बन्धी कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने साहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताएका छन् ।
तिहारका बेला खेलिने देउसी–भैलोका कार्यक्रम यसवर्ष जिल्लाका विभिन्न संघ संस्था तथा क्लवहरुले संचालन गर्ने तयारी गरेका छन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य किसिमले मनाइएको तिहारमा यस वर्ष खुल्ला गरिएको छ । यद्यपी रातिको समयमा अबेर सम्म कार्यक्रम संचालन गर्न नपाइने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले विस्फोटक पदार्थ पटकाहरू को ओसारप्रसार, खरिद, बिक्रीमा रोक लगाएको छ । आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकुल असर पर्न सक्ने भएकाले रोक लगाएको साहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन् ।