आज दीपावलीका साथ लक्ष्मीपुजा गरिँदै आजै कुकुर तिहार रनरक चतुर्दशी
कात्तिक ७
नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।
आज घरको आँगन, पिँढी, दलान गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।
आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।
आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको बताईन्छ।
कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।
नरक चतुर्दशी
आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।