कांग्रेसको घोषणापत्र सार्वजनिक,पाँच वर्षीय महत्वकांक्षी एजेन्डा
कार्तिक १३
आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा–पत्रमार्फत् हिजो शनिबार पाँच वर्षीय एजेन्डा सार्वजनिक गरेको छ ।
जनतामाझ मत माग्न जाँदा लैजाने उक्त घोषणा–पत्रलाई कांग्रेसले सङ्कल्प पत्रका रूपमा सार्वजनिक गरेको हो । पार्टीका एजेन्डालाई समेटेर जनतामाझ पु¥याउन तयार पारेको संकल्प पत्रमा छिमेकी मुलुक भारत र चीनसँगको सीमा विवाद समाधानदेखि देशमै रोजगारी, निःशुल्क स्वास्थ्य, व्यावसायिक शिक्षा, देशको आर्थिक वृद्धि, सामाजिक न्याय, ज्येष्ठ नागरिक, युवा, महिला बालबालिकाको क्षेत्रलाई समेत जोड दिइएको छ ।
भारतसँगको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । त्यस्तै, चीनसँग पनि हुम्ला जिल्लामा सीमा विवाद देखिएको र त्यसलाई समाधान गर्नका लागि कूटनीतिक प्रयास गरिने घोषणापत्रमा लेखिएको छ ।
गत भारत भ्रमणको अवसरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सीमा समस्याको बारेमा नेपालको स्पष्ट धारणा र अडान भारत सरकारसँग राखेको कुरालाई समेत पार्टीले संकल्प पत्रमा उल्लेख गरेको छ । चीनसँग हुम्लामा सीमा विवाद रहेको भन्दै आएको कांग्रेसले यसबारे घोषणापत्रमै उल्लेख गर्दै विवाद कूटनीतिक प्रयासबाट समाधान गरिने जनाएको हो ।
त्यस्तै आफ्नो नेतृत्वमा सरकार गठन भएमा आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको छ । घोषणापत्रमार्फत भनेको छ– ‘व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जनलगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ । वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको हो ।’
हाल नेपालमा ७० लाखभन्दा बढी जनसंख्या विभिन्न प्रकारका रोजगारी र स्वरोजगारमा आबद्ध रहेको उल्लेख गर्दै नेपालमा रोजगारीका पाँच ठूला क्षेत्र कृषि, थोक तथा खुद्रा बिक्री, उत्पादनमूलक उद्योग, निर्माणमा र शिक्षा रहेको भन्दै कांग्रेसले आगामी पाँच वर्षमा नयाँ रोजगारीका क्षेत्र पहिचान गर्ने र त्यसमा अवसर सिर्जना गर्ने योजना अघि सारेको नेपाली कांग्रेसका सहमहामन्त्री एवं घोषणापत्र निर्माण समितिका प्रवक्ता जीवन परियारले बताउनुभयो । नेपालमा हरेक वर्ष करिब पाँच लाख नयाँ श्रमशक्ति बजारमा आउने गरेको तर त्यसको तुलनामा रोजगारीका अवसर न्यून रहेको तथ्यलाई कांग्रेसको घोषणापत्रमै उल्लेख गरेर निर्वाचनपछि काम गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।
नेपालमा वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने भए पनि २०७७–०७८ मा दर्ता भएका २ सय ३ नयाँ उद्योगले जम्मा ११ हजार ८ सय ३३ जना मात्र प्रस्तावित गरेको अवस्था रहेको र लोकसेवा आयोगका विभिन्न क्षेत्रमा जम्मा ३ हजार ७ सय ५४ जनाको विज्ञापन गरिएको तथ्यलाई समेत घोषणा पत्रमा समेटेको छ । यो निराशाजनक अवस्थामा लाखौंको संख्यामा मर्यादित रोजगारी सिर्जना गर्न ठूलै संरचनात्मक पहल चाहिने भएकाले नेपाली कांग्रेसले आर्थिक क्षेत्रका विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनलाई व्यापक सुधार गर्दै न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने कांग्रेसको संकल्प रहेको छ ।
अर्थतन्त्रमा अहिले देखिएका चुनौती समाधान गर्ने र दिगो रूपमा देशलाई समुन्नत बनाउने कार्ययोजनासमेत घोषणापत्रमा प्रस्तुत गरेको छ । कांग्रेसको घोषणापत्रमा ५० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिनेदेखि नागरिकका महत्वपूर्ण दस्तावेज ‘होम डेलिभरी‘ गर्नेसम्मका योजना समावेश छन् । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउन स्थानीय सरकार र वित्तीय संस्थामार्पmत संघीय सरकारको ग्यारेन्टीमा स्वरोजगारीका लागि ऋण दिने घोषणा समेत गरेको छ ।त्यसै गरी स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पनि नेपाली कांग्रेसले नागरिकमैत्री सेवा प्रदान गर्ने नीति अवलम्बन गरेको जनाएको छ । पार्टीको संकल्प पत्रमार्फत कांग्रेसले ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गर्ने बाचा गरेको छ । ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने कांग्रेसले जनाएको छ ।
यस्तै, ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा र बिमामार्पmत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने घोषणापत्रमा उल्लेख छ । बिमा रकमको दायरा बढाएर १० लाख पु(याइने कांग्रेसले नीति लिएको छ । घोषणापत्रमा भनिएको छ– ‘६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयम्सेविकालाई निःशुल्क बिमा गरिने छ । सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिनेछ ।’कांग्रेसले उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवाहरूसहितको अस्पताल सञ्चालन गरिने चुनावी वाचा गरेको छ ।
घोषणापत्रमा हरेक स्थानीय तहमा सेवा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाइने उल्लेख गरेको छ । २०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले लिएकै नीतिलाई निरन्तरता दिँदा अर्थतन्त्र सुधार हुने कांग्रेसको निष्कर्ष छ । ‘अर्थतन्त्रका चार प्रमुख क्षेत्र वास्तविक, वित्तीय, मौद्रिक र बाह्य फाँटमा देखिएका प्रतिकूलतालाई हामी आफ्नै वैचारिक धरातल, अभ्यास, जन्म, सिकाइ र अनुभव तथा निजी क्षेत्र र नागरिक समाजसँगको परामर्श एवं प्राज्ञिक शोध र अन्तर्राष्ट्रिय साझेदारहरूको सल्लाहका आधारमा समाधान गर्नेछौं’ –संकल्पपत्रमा भनिएको छ ।
भौतिक विकासअन्र्तगत राष्ट्रिय गौरवका आयोजनाहरूको काम पाँच वर्षभित्रमा गरिसक्ने जनाएको छ ।
पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्ग र मुग्लिन–पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने, हुलाकी, मध्यपहाडी र मदनभण्डारी राजमार्गको निर्माण सक्ने, मनाङदेखि मुस्ताङ हुँदै हुम्ला जोड्ने सडकको अधिकांश भाग सम्पन्न गर्ने, मेची, कोसी, सगरमाथा, तमोर, कालीगण्डकी, भेरी, कर्णाली र महाकाली करिडोरको निर्माण सक्ने प्रतिबद्धता पनि कांग्रेसले गरेको छ । त्यस्तै, टोखा–छहरे शुरूङ, नागढुंगा–सिस्नेखोला र सिद्धबाबाका शुरूङमार्ग निर्माण गरिसक्ने, दुम्कीबास–बर्दघाट, माझिमटार–शक्तिखोर, खुर्कोट–चियाबारी, ब्याउलीखोला–इमल्चिखोला, सुर्खेत–रानीघाट–भूरिगाउँ शुरूङमार्गहरूको निर्माण पनि यसै अवधिमा शुरू गर्ने कांग्रेसको संकल्प छ ।
राष्ट्रियतका मुद्दामा नेपाली कांग्रेसको स्पष्ट धारणा रहेकाले जनतामाझ लैजाने संकल्प पत्रमै उल्लेख गरेर सीमासम्बन्धी सबै विवादहरूलाई कूटनीतिक तवरबाट समाधान गर्ने नीति लिएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं घोषणा पत्र तयारी समितिका प्रवक्ता जीवन परियारल भन्नुभयो– ‘कांग्रेसले आफ्नो राष्ट्रियताको मुद्दामा भूगोल र जनता रहने स्पष्ट पारेको छ । त्यहीअनुसार हामीले आफ्नो भूगोल र जनताको संरक्षणका लागि देशभित्र र बाहिरका सबै निकायहरूसँगको सौहार्दपूर्ण छलफलबाट समस्या समाधान खोज्ने लाग्नेछौं ।’
राष्ट्रियता भनेकै भूगोल र जनता दुवै रहेको प्रस्ट पार्दै पार्टीले सार्वजनिक गरेको संकल्प पत्रमै भनिएको छ– ‘राष्ट्रियता भनेको केवल भूगोल मात्रै होइन, देशका जनता पनि हुन् । त्यसैले भूगोलका साथै जनता केन्द्रित राष्ट्रियता नेपाली कांग्रेसको मूलमन्त्र हो ।’ कांग्रेसले आफूलाई सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने सच्चा उदार राष्ट्रवादी र देशभक्त पार्टी भनेको छ । कांग्रेसले ५६ पृष्ठ लामो संकल्प पत्रमा आगामी पाँच वर्षभित्र गर्नुपर्ने कामसहितका आफ्ना एजेन्डा जनतामाझ पस्किएको छ । स्थानीय तहको निर्वाचनमा शुरू गरेको कोखदेखि शोकसम्म कार्यक्रमलाई कांग्रेसले निरन्तरता दिएको छ । कांग्रेसले अघि सारेका नीति देश र जनताका पक्षमा भए पनि यसको कार्यान्वयन हुने कुरामा बिस्वास गरिहाल्ने अवस्था नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।