ओली दाहाल फोन संबाद, कम्युनिष्ट पार्टी एकता ब्युँत्याउने प्रयास कि नयाँ समिकरणको सुरुवात
मंसिर ९
देशका बिभिन्न स्थानको मतपरिणाम आउँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरेको टेलिफोन संवादले नेपाली राजनीतिमा हलचल आउने संकेत गरेको छ।
पाँच बर्ष अघि चीनले जसरी कम्युनिष्ट पार्टीहरुलाई एक बनाउने प्रयास गरेको थियो, पुन सोही प्रयासलाई ब्युँत्याउन खोजेको पनि अनुमान गरिएको छ।
ओलीले हिजो बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गरेर फेरि मिलेर अघि बढ्न आग्रह गरेका छन्।
प्रचण्डले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताए।
‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ, पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ’ भनेर प्रचण्डले ओलीलाई जवाफ दिएका प्रचण्डको सचिवालयले जनायो।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख तथा ठूला भनिएका दललाई चुनौती दिइरहेको समयमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बिचको संबाद महत्वपूर्ण रुपमा हेरिएको छ।
एमालेको प्रत्यक्षतर्फ राम्रो नतिजा नदेखिए पनि समानुपातिकमा राम्रै मत देखिए पछि ओलीले अनेक बिकल्पहरुको प्रयास गरेका हुनसक्छन्।
मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी २०७५ जेठ ३ मा एक भएका थिए।
२०७४ मा एमाले र माओवादी एक हुदा एमालेका १२१ र माओवादीका ५३ गरी १७४ सांसद थिए।
२०७४ फागुन ३ मा एमाले र माओवादीको समर्थनमा प्रधानमन्त्री नियुक्त हुँदा एमाले र माओवादीका १७४ र २०७५ जेठ १४ मा दुई बुँदे सहमति गरेर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि २७५ सदस्यीय प्रतिनिधि सभामा ओली सरकारलाई स्पष्ट दुई तिहाइको समर्थन प्राप्त भएको थियो।
तीन वर्ष नपुग्दै दुई तिहाइको समर्थन पाएको सरकार एकाएक अल्पमतमा परेको थियो।