छत्रकोटमा सुन्तला महोत्सव हुने
गुल्मी, पुष २
छत्रकोट गाउँपालिकामा सुन्तला महोत्सव हुने भएको छ । अनमोल कृषक समुहको आयोजनामा पुस ७ गते सुन्तला महोत्सब गर्न लागिएको हो । महोत्सवमा सुन्तलाको प्रर्दशनी, बगैचा अवलोकन र स्थानीय पञ्चेबाजा र लाखे नाच प्रस्तुत गरिने छ ।
कृषकलाई सुन्तला उत्पादनमा थप उत्साहित बनाउँदै आन्तरिक पर्यटन बढाउने उदेश्यले सुन्तला महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनु भयो । पालिकाका भित्र सुन्तला र उँखुको उत्पादन राम्रो र ती स्थान प्रमुख सडकबाट नजिक भएकाले कृषि पर्यटनका रचनात्मक काम अगाडी बढाइएको पाण्डेयको भनाई छ । यहाले त्यो मध्येको एउटा काम सुन्तला महोत्सव रहेको बताउनु भयो । पालिकाले महोत्सवका लागि आर्थिक सहयोगसंगै ठुलो मात्रामा सुन्तला उत्पादन गर्ने कृषकलाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनु भयो ।
अनमोल कृषक समुहका अध्यक्ष तथा अगुवा कृषक बिष्णुप्रसाद पन्थका अनुसार छत्रकोट गाउँपालिका वडा नं १, २, ३ र ४ मा सुन्तला उत्पादन बढि रहेको छ । गत बर्ष छत्रकोट गाउँपालिकाबाट २ हजार ३ सय दुई क्विन्टल अर्थात एक करोड ३५ लाख ७९ हजारको सुन्तला बिक्री भएको पन्थले बताउनु भयो । वडा नं ३ मा सवैभन्दा बढि सुन्तला उत्पादन हुन्छ । पन्थका अनुसार वडा नं ३ मा मात्रै अहिले एक करोड २७ लाख ७५ हजारको सुन्तला बिक्रीको लागि ठेक्का भइसकेको छ ।
गाउँपालिकाभरबाट एक करोड ६१ लख ६५ हजारको सुन्तला अहिले बिक्री गरिने पन्थले बताउनु भयो । पालिकाका चार वडामा १५ हजार ६ सय ६३ बोट फल्ने र हुर्कदै गरेका १६ हजार ५ सय ५८ सुन्तलाका बिरुवा रहेका छन् । कागती ४ हजार ७ सय २३ फल्ने र हुर्कदै गरेका १२ हजार ६ सय बिरुवा रहेका छन् । छत्रकोटमा २० हजारदेखि आठ लाखसम्मका सुन्तला बिक्री गर्ने कृषक रहेका छन् । बिष्णु प्रसाद पन्थले दुई लाख र डिल्लीराज पन्थले ८ लाखका सुन्तला बार्षिक रुपमा बिक्री गर्दै आउनु भएको छ ।