संसदीय दलको निर्वाचनका लागि देउवा–गगन मैदानमा
पुष ४
प्रमुख सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ । कांग्रेसभित्र संसदीय दलको नेताका लागि सहमति हुने सम्भावना कम छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था बढेको छ । दलको नेता चुन्न भोलि मतदान गर्ने गरी कांग्रेसले तयारी गरेको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको हो । समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई दिएको छ ।
समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य तोकिएका छन् । सकेसम्म दलको नेता सहमतिमा नै चयन गरिने नभए लोकतान्त्रिक ढंगबाट निर्वाचनको प्रक्रियामार्फत चयन गरिने बताईएको छ ।