छत्रकोटमा भोलीदेखि हुने ‘छत्रकोट सुन्तला महोत्सव’ को तयारी पुरा
पुष ६
गुल्मीको छत्रकोटमा भोलीदेखि हुने ‘छत्रकोट सुन्तला महोत्सव’ को तयारी पुरा भएको छ । अनमोल कृषक समुहको आयोजनामा भोली बिहीबार सुन्तला महोत्सब गर्न लागिएको हो ।
महोत्सवको लागि सुन्तलाको प्रर्दशनी, बगैचा अवलोकन र स्थानीय पञ्चेबाजा र लाखे नाच प्रस्तुत गर्नको लागि आवश्यक सबै तयारी पुरा भएको कृषक विष्णुप्रसाद पन्थले बताउनु भयो ।
अनमोल कृषक समुहका अध्यक्ष समेत रहेका पन्थले गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा सुन्तला उत्पादन बढि हुने बताउनु भयो । गत बर्ष पालिकाबाट २ हजार ३०२ क्विन्टल अर्थात एक करोड ३५ लाख ७९ हजारको सुन्तला बिक्री भएको पन्थले बताउनु भयो । वडा नं ३ मा सबैभन्दा बढि सुन्तला उत्पादन हुन्छ । पन्थका अनुसार वडा नं ३ मा मात्रै अहिले एक करोड २७ लाख ७५ हजारको सुन्तला बिक्रीको लागि ठेक्का भइसकेको छ ।
गाउँपालिकाभरबाट एक करोड ६१ लख ६५ हजारको सुन्तला अहिले बिक्री गरिने पन्थले बताउनु भयो । पालिकाका चार वडामा १५ हजार ६ सय ६३ बोट फल्ने र हुर्कदै गरेका १६ हजार ५ सय ५८ सुन्तलाका बिरुवा रहेका छन् । कागती ४ हजार ७ सय २३ फल्ने र हुर्कदै गरेका १२ हजार ६ सय बिरुवा रहेका छन् । छत्रकोटमा २० हजारदेखि आठ लाखसम्मका सुन्तला बिक्री गर्ने कृषक रहेका छन् । बिष्णु प्रसाद पन्थले दुई लाख र डिल्लीराज पन्थले ८ लाखका सुन्तला बार्षिक रुपमा बिक्री गर्दै आउनु भएको छ ।
सुन्तला कृषकलाई उत्पादनमा थप उत्साहित बनाउँदै आन्तरिक पर्यटनमा समेत टेवा पुराउने उदेश्य सुन्तला महोत्सवको आयोजना गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले बताउनु भयो ।